×

गणेश नेपाली आत्मदाह प्रकरण: सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने (सहमतिको पूर्णपाठसहित)

images

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीसँगको विवाद र ह्विल लकको तनावपछि आत्मदाह गरेका मुगुका राइडर गणेश नेपालीको मृत्युपछि सिर्जना भएको तनावाग्रस्त वातावरण मत्थर भएको छ । नेपाल सरकार, काठमाडौँ महानगरपालिका र आन्दोलनरत पीडित परिवारबीच आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) र गृह मन्त्रालयका पदाधिकारीहरूको रोहवरमा भएको सो वार्तामा महानगरपालिकाले आफ्नो कार्यपालिका बैठकबाट नीतिगत निर्णय गराई पीडित परिवारको दीर्घकालीन जीविकोपार्जन, शिक्षा र रोजगारीको पूर्ण जिम्मेवारी लिने लिखित प्रतिबद्धता जनाएको छ । सहमतिपछि पीडित पक्ष वीर अस्पतालबाट गणेशको शव बुझेर अन्तिम संस्कार गर्न सहमत भएका छन् ।

 सरकार र पीडित परिवारबीच भएको ९ बुँदे सहमतिको नालीबेली:

१. पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन समिति: घटनाको निष्पक्ष सत्यतथ्य पत्ता लगाउन सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ, जसले सात (७) दिनभित्र आफ्नो प्रतिवेदन बुझाउनुपर्नेछ ।

२. शहीद घोषणाको प्रक्रिया अघि बढाइने: छानबिन समितिले बुझाउने प्रतिवेदन, नेपालको प्रचलित कानुन र विगतका अभ्यासका आधारमा गणेश नेपालीलाई शहीद घोषणा गर्ने कानुनी प्रक्रियालाई नेपाल सरकारले अघि बढाउनेछ ।

३. दोषी नगर प्रहरीहरू निलम्बन र कारबाही: घटना भएको दिन कार्यक्षेत्रमा खटिएका र विवादमा संलग्न काठमाडौँ महानगरपालिकाका नगर प्रहरी कर्मचारीहरूलाई छानबिन नसकिँदासम्म तत्काल निलम्बन गरिनेछ । प्रतिवेदनको सिफारिसका आधारमा उनीहरूमाथि थप कडा कानुनी कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालयले महानगरलाई पत्राचार गर्नेछ ।

४. श्रीमतीलाई योग्यताअनुसार सरकारी रोजगारी: काठमाडौँ महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकको निर्णयानुसार मृतक गणेश नेपालीकी श्रीमती (एकमाया नेपाली) लाई उनको योग्यता र क्षमताका आधारमा महानगरपालिकाभित्रै स्थायी प्रकृतिको रोजगारी सुनिश्चित गरिनेछ ।

५. छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च राज्यले व्यहोर्ने: मृतककी अवोध छोरीको प्राथमिक शिक्षादेखि उच्च शिक्षा (Higher Education) सम्मको अध्ययनको सम्पूर्ण खर्च काठमाडौँ महानगरपालिकाले व्यहोर्नेछ र यसका लागि संघीय सरकारका सम्बन्धित मन्त्रालयहरूले आवश्यक समन्वय गर्नेछन् [।

६. आश्रित परिवारलाई यथोचित राहत रकम: महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट वित्तीय निर्णय गराई मृतकको आश्रित परिवारलाई तत्कालका लागि उचित र यथोचित आर्थिक राहत रकम उपलब्ध गराइनेछ ।

७. काजक्रिया र अन्तिम संस्कारको खर्च महानगरले व्यहोर्ने: मृतकको शव बुझिलिने, शव परीक्षण (पो पोस्टमार्टम) लगायतका कानुनी प्रक्रियामा परिवारले सहयोग गर्नेछ । मृतकको अन्तिम संस्कार (सद्गत) र काठमाडौँमा गरिने काजक्रियाको सम्पूर्ण बन्दोबस्त र खर्च महानगरपालिकाले मिलाउनेछ ।

८. आफन्तको आतेजाते र बसोबास खर्च: पीडित परिवार तथा एकाघरका आफन्तजनहरू काठमाडौँ आउँदा–जाँदा लागेको यातायात (भाडा) खर्च र काजक्रिया अवधिभर काठमाडौँमा रहँदा–बस्दा हुने सम्पूर्ण खर्च काठमाडौँ महानगरपालिकाले नै ब्यहोर्नेछ ।

९. सम्पूर्ण परिवारको निःशुल्क स्वास्थ्य बीमा: पीडित एकाघरका परिवारका सदस्यहरूको पूर्ण सामाजिक सुरक्षाका लागि निःशुल्क स्वास्थ्य बीमा (Health Insurance) को व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मिलाउनेछ ।

 के थियो माग र अबको बाटो?

यसअघि बिहीबार त्रिपुरेश्वरमा महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि उत्पन्न विवादका कारण पेट्रोल छर्केर आत्मदाह गरेका गणेशको शुक्रबार वीर अस्पतालमा निधन भएको थियो। परिवार र विभिन्न राईडर युनियनहरूले महानगरको आतङ्क बन्द हुनुपर्ने, पीडितलाई शहीद घोषणा गरिनुपर्ने र दोषी नगर प्रहरीलाई जेल हाल्नुपर्ने माग राख्दै शव बुझ्न मानेका थिएनन्, जसका कारण माइतीघर र वीर अस्पताल क्षेत्र तनावग्रस्त बनेको थियो ।

यो ९ बुँदे सहमतिसँगै सडक आन्दोलन तत्कालका लागि थामिएको छ  तर, नागरिक समाज र युवाहरूले सरकारले विगतमा पनि प्रेम आचार्यको आत्मदाहका बेला यस्तै सहमति गरेर कार्यान्वयन नगरेको भन्दै यसपटक सहमतीय बुँदाहरू कागजमा मात्र सीमित नभई द्रुत गतिमा कार्यान्वयन हुनुपर्ने दबाब दिइरहेका छन् ।

यस्तो छ सहमति पत्र 

 

आइतबार​ २८ असार २०८३ ०८:१६ PM मा प्रकाशित

प्रतिक्रिया