कप्तान रोहित पौडेलले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत यूएईविरुद्ध अर्धशतक पूरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितले आठौं अर्धशतक प्रहार गर्ने क्रममा ८३ बलमा ७ चौका प्रहार गरे। उनी नेपालका लागि एकदिवसीय खेलमा सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी समेत बने।
रोहितले नेपालका लगि एक शतक पनि प्रहार गरेका छन्। नेपालले युएईविरुद्ध ३३ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा १४६ रन जोडेको छ। उच्च फर्ममा रहेको नेपालले युएईलाई हराउँदै तालिकाको चौथो स्थानमा उक्लिन चाहन्छ। यो सँगै नेपालले आगामी चार वर्षको लागि ओडिआई मान्यता पक्का गर्नेछ।
सात देश सहभागी विश्वकप लिग टु क्रिकेटमा नेपाल अहिले ३३ खेलबाट ३४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ। समान खेलबाट ३१ अंक जोडेको युएई छैटौ स्थानमा छ भने ११ अंक जोडेको पीएनजी सातौं स्थानमा रहेको छ।
पहिलो खेलमा पिएनजीसँग पराजित भएको युएईलाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ। लिगका पछिल्ला ९ मध्ये ८ खेलमा नेपालले जित हात पारेको छ। घरेलु मैदानमा भएका पछिल्ला पाँच खेलमा नेपाल अपराजित छ।
नेपाललाई सोझै विश्वकप छनोट खेल्न बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ। विश्वकप लिग टु क्रिकेटमा आफ्ना सबै खेल सकाएको स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन बन्दा ४४ अंकसहित ओमान दोस्रो, ३९ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छन्। यस्तै ३५ अंक जोडेको अमेरिकाले पनि आफ्ना सबै खेल सकाएको छ।
नेपाल, युएई र पीएनजीबीचको काठमाडौंमा जारी अन्तिम सिरिज पछि चार वर्ष लामो विश्वकप लिग टु क्रिकेट सकिनेछ।
यो प्रतियोगिताको शीर्ष तीनमा पर्ने टोलीले जिम्बाबेमा हुने विश्वकप छनोटमा सोझै पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।
प्रतिक्रिया