काठमाडौ । सडक विस्तार नहुँदासम्म छिटो गन्तब्यमा पुग्न घोडाको विकल्प थिएन । घोडा चढ्नु र पाल्नुलाई व्यक्तिको आर्थिक, सामाजिक हैसियत र प्रतिष्ठासँग तुलना गरिन्थ्यो । केही बर्ष अघिसम्म यातायातका साधनका रुपमा प्रयोग हुने घोडा अहिले सडक विस्तारसँगै विस्थापित भएका छन् ।
घोडाको ठाउँ मोटरसाइकल र गाडीले लिएका छन् । घोडामा चढ्ने र सामान ढुवानी गर्ने चलन अहिले घटेको छ । घोडाको प्रयोग हिजोआज फेरिएको छ । तर पर्यटकका लागि भने घोडा आकर्षण बनेको छ ।
अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका याम पुन पर्यटकलाई गन्तब्यमा पुर्याउनका लागि घोडाको माग बढ्न थालेको बताउँछन् । ‘घोडा चढेर यात्रा गर्न पर्यटकले रुचाएका छन्’, उनले भने, ‘सडक भएपछि सामान बोक्न र हामीले चढ्न प्रयोग गरेका घोडालाई अहिले पर्यटक बोक्न प्रयोग गरेका छौँ ।’
घोडेपानीदेखि घान्द्रुक र नयाँपुलदेखि घोडेपानी आवतजावत गर्ने पर्यटकलाई घोडामा चढाएर आयआर्जन गर्ने माध्यम बनेको छ । घोडेपानीका छ वटा होटलले पर्यटकलाई चढाउनका लागि २५ घोडा पालेका छन् । पर्यटकलाई घोडामा चढाएर घोडेपानीदेखि घान्द्रुक पुर्याएको १५० डलर शुल्क तोकिएको छ ।
प्रतिक्रिया