काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण यहाँ आइपुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उनलाई स्वागत गरिन् । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल-भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । साथै भारतका विदेश सचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतीय विदेश सचिव मिश्री सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
विनयमोहन क्वात्राले अवकाश पाएपछि गत जुलाई १५ मा मिस्री विदेश सचिव बनेका थिए । उनले यसअघि भुटानको भ्रमण गरिसकेका छन् । विदेश सचिवमा बढुवा हुनुअघि मिस्री भारतको उप-राष्ट्रिय सुरक्षा सल्लाहकार थिए ।
५९ वर्षीय मिस्रीले भारतका प्रधानमन्त्रीहरू इन्द्रकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवको रुपमा काम गरेको अनुभव छ । उनले सन् २०१९-२०२१ सम्म चीनका लागि भारतको राजदूतका रूपमा पनि काम गरेका थिए ।
प्रतिक्रिया