×

कुलिङ पिरियड हेरफेर बारे छानबिन समितिको प्रतिवेदन कार्यान्वयनको छलफलमा सभामुख

images

काठमाडौँ  । सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदन त्रुटिको छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको कार्यान्वयनका विषयमा अलग अलग छलफल गरेका छन् ।

सभामुख घिमिरेले सत्तारुढ एमाले मुख्य सचेतक महेश कुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयसँग छलफल गरेका छन् ।

सभामुखले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने बताएका छन् । कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधिन रहेको बताउँदै उनले दलहरूलाई साझा धारणा बनाउन आग्रह गरेका छन् । राज्यव्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन नयाँ सचिवकोरुपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएको बताउँदै समितिको काम अब धेरै समय रोक्न नसकिने उल्लेख गरे ।

नेताहरूले प्रमुख दलहरूको सुझावका आधारमा निर्णय गर्न सभामुखलाई सुझाव दिएका छन् ।

सभामुखले गएको शुक्रबार सचिवालयका कानून सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्यव्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा परामर्श गरेका थिए ।

सभामुख घिमिरेले मंगलबार पनि अलग अलग सुझाव लिने काम सकिएपछि संयुक्त बैठक गर्ने तयारी गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

सोमबार २७ साउन २०८२ ०७:२४ PM मा प्रकाशित

प्रतिक्रिया