×

दुर्गा प्रसाईँ भारतमा पक्राउ, काठमाडौँ ल्याइँदै

images

काठमाडौँ- काठमाडौँको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईंलाई आज नेपाल ल्याइपुर्‍याइँदै छ। झापाको काँकडभिट्टा नाका हुँदै भारत पसेको सूचना पाएपछि प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा खोजी जारी राखेको थियो । उनलाई खोज्न नेपाल प्रहरीका तीन विशेष टोली भारत नै पुगेको स्रोतले जनायो ।

प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ । तीनकुने प्रदर्शनका बेला उनले प्रहरी अधिकारीहरुलाई नै किच्याउने गरी गाडी समेत हाँकेका थिए । यस्तोमा उनीविरुद्ध ज्यान मार्ने उद्योग गरेको कसुरमा पनि मुद्दा चल्न सक्ने एक अधिकृत बताउँछन् ।  काँकडभिट्टामा उनका समर्थहरूले अवरोध गर्ने सुरक्षा विश्लेषणको आधारमा नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याउने प्रहरीको तयारी छ । 

चैत १५ मा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो । पूर्वराजाको पक्षमा आयोजित प्रदर्शनमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ पनि सहभागी थियो । सुवेदीलाई गौरीघाट स्थित घरमै नजरबन्द गरिएको छ । त्यही घटनामा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणासहित ७३ भन्दा बढी आरोपितलाई पक्राउ गरिसकेको छ। 

शुक्रबार​ २८ चैत २०८१ १०:१६ AM मा प्रकाशित

प्रतिक्रिया