अब कर्णालीको विकासका लागि जुटौँ : मुख्यमन्त्री

    images

    कर्णाली, २९ चैत ः कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली विकास र समृद्धिको लागि आवधिक र स्थायी सरकार दुवै जुट्नुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको तेस्रो अधिवेशनको सातौँ बैठकमा आफ्ना धारणा राख्नुहुँदै मुख्यमन्त्री कँडेलले आवधिक र स्थायी सरकारको प्रभावकारी संयोजनद्वारा मात्र जनताका आशा पुरा गर्न सकिने बताउनुभयो । प्रदेशवासीको जनचाहनालाई पूरा गर्न स्थायी सरकारलाई सँगसँगै लान सकिएमा अपेक्षित परिणाम आउने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हिजो प्रश्न सोध्ने ठाउँबाट आज जवाफ दिने ठाउँमा आएको छु । जनअपेक्षा अनुसार विधेयक ल्याउनुपर्ने र केही निरुपण गर्नुपर्ने अवस्था छ ।

    विगतको तरिकाललाई सकेसम्म बदल्ने र रकमान्तर नगर्ने गरी बजेट ल्याउने कुरामा हामी सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नैै पर्दछ ।” यस पटकको नीति तथा कार्यक्रम र बजेट जनसरोकारसँग सम्बन्धित आउने उहाँले बताउनुभयो । व्यक्ति अनुकूल भन्दा संस्थागत विकासमा सहयोग पुग्ने बजेट ल्याउने कुरामा मद्दत गर्न आग्रह गर्दै उहाँले सन्तुलित विकासको अवधारणा अनुसार आवश्यकताका आधारमा बजेट वितरण र योजना छान्ने काममा सबै प्रदेशसभा सदस्यहरुले सकरात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । बजेट तर्जुमा योजना निर्माण र वितरण गर्ने प्रक्रियालाई व्यवस्थित बनाएर लैजाने बताउनुभएका मुख्यमन्त्री कँडेलले भन्नुभयो, “अब अलमल नगरी छिटोछरितो विकास योजना निर्माण गर्नुपर्दछ ।

    कर्णालीमा विकासको सही संस्कृति स्थापित गर्दै लैजाने जिम्मेवारी काँधमा आएको छ । यसका लागि सबै सरोकारवालाको सहयोग समर्थन आवश्यक छ ।” नेपाली कांग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मत विष्टले सरकारका सकरात्मक कार्यमा सहयोग गर्ने र गलत प्रवृतिकाविरुद्ध सरकारको खबरदारी गरिरहने भन्दै मुख्यमन्त्रीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियार र एकीकृत समाजवादीका प्रदेशसभा सदस्य कल्याणी खड्का र राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री कँडेलाई बधाईसहित शुभकामना व्यक्त गर्नुभयो ।

      बिहीबार २९ चैत २०८० ०६:१७ PM मा प्रकाशित

      प्रतिक्रिया