काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्रको मृत्यु भएको दिन नै राजतन्त्रको अन्त्य भइसकेको बताएका छन् ।
आज (मंगलबार) काठमाडौंमा आयोजित हुलाक टिकट प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले वीरेन्द्र र दीपेन्द्रको निधनपछि ज्ञानेन्द्रलाई राजा बनाउनु नेपाली नेताहरूको ठूलो गल्ती भएको टिप्पणी गरे ।
‘भइरहेको राजालाई दरबारबाटै मारियो, त्यसपछि हुने युवराज पनि मारियो । राजतन्त्र त्यही दिन सकिएको थियो । जनताले होइन, दरबार आफैंले राजतन्त्र समाप्त गर्यो,’ मन्त्री गुरुङले भने ।
ज्ञानेन्द्रलाई राजा बनाउनु ‘सर्पको बच्चा पाल्नु जस्तै’ भएको उनले टिप्पणी गरे । ‘नभएको राजालाई बनाएर सबै खाइदियो । अन्ततः जनताले आन्दोलन गरे, राजतन्त्र परास्त भयो । अब राजालाई बोकेर देश विकास हुँदैन,’ उनले थपे ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि राजतन्त्र खोज्नु ‘बिजुलीको साटो अगुल्टो खोजे सरह’ भएको उनले बताएका छन् । उनले राष्ट्रवादीको नाममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको फोटो ल्याउनेहरू राष्ट्रवादी कसरी हुन सक्छन् ? भन्दै प्रश्न गरे ।
प्रतिक्रिया