×

नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला, चैत २५ गतेसम्म आवेदन दिन सक्ने

images

काठमाडौं– नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौँ समूहका लागि आवेदन खुला गरेको छ । सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पुर्‍याउने सोच भएका इच्छुकले आगामी चैत २५ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

बैंकका अनुसार त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा सञ्चालन भइरहेको नबिल एसएसई फेलोसिप कार्यक्रम ६ महिनासम्म सञ्चालन हुन्छ । जसमा १८ दिनको निःशुल्क आवासीय तालिम र एक वर्षको परामर्श कार्यक्रम समावेश छ । यसमार्फत हालसम्म तीन वटा समूहका ५६ उद्यमीले तालिम लिइसकेका छन् भने ४५ सामाजिक उद्यममार्फत १ हजार १८४ जनालाई रोजगारी दिइसकेको छ । कार्यक्रमअन्तर्गत हाल चौथो समूहका २० उद्यमीले प्रशिक्षण लिइरहेका छन् भने पाँचौँ समूहमा पनि देशभरिबाट आएका आवेदनबाट २० जना छनौट हुने बैंकले जनाएको छ । 


कार्यक्रममा सहभागिताका लागि केबल १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ । व्यवसाय सुरु गरिसकेका तथा नवीन उद्यमशीलता सोच भएका व्यक्तिले यस कार्यक्रममा आवेदन भर्न सकिनेछ । कार्यक्रममा सहभागिताका लागि नबिल स्कुल अफ सोसल इन्टप्रेनरसिपको फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सकिन्छ । साथै नबिल बैंकको वेबसाइटबाट फारम डाउनलोड गरी इमेलमार्फत पठाउन पनि सकिन्छ ।
 
यस कार्यक्रममा जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, कला, सामुदायिक विकास, कृषि, ऊर्जाका साथै दिगो विकासका लक्ष्यसँग मेल खाने क्षेत्रमा काम गरिरहेका उद्यमीहरु कार्यक्रममा सहभागी हुन सक्नेछन् । 

कार्यक्रमले विभिन्न क्षेत्रका उद्यमीलाई एकै ठाउँ ल्याइ अनुभवी मार्गदर्शकहरू र उद्योग विशेषज्ञहरूबाट प्रशिक्षण दिने बैंकले जनाएको छ । नबिल एसएसईले सहभागीलाई उनीहरूको व्यवसाय विकास गर्न आवश्यक स्रोतहरू उपलब्ध गराउनुका साथै सम्बन्धित प्लेटफर्म र सञ्जालमा पहुँच स्थापित गर्न र वित्तीय पहुँचका लागि अवसरहरू खोज्न सहयोग गर्दै आएको छ ।

मङ्गलबार २७ फागुन २०८१ १२:०३ PM मा प्रकाशित

प्रतिक्रिया