काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको अबको नेतृत्वमा नजिकै रहेको नाताले महामन्त्री गगन थापा र आफू जाने बताएका छन् ।भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा सम्बोधन गर्दै महामन्त्री शर्माले उक्त कुरा बताएका हुन् ।
'पार्टीको ड्राइभिङ सिटमा नजिकै रहेको नाताले पार्टीका महामन्त्री दुवै जानेछौँ । त्यसको जिम्मेवारी हामी पनि लिन्छौँ । त्यसैलाई स्विकारेरै हामीले भनेका हौँ,' उनले भने, 'अब नयाँ परिस्थिति बनेको मुलुकमा । नयाँ परिस्थितिलाई सामना गर्नको लागि नयाँ परिस्थिति निर्माण गर्नका निम्ति पुरानो राखेर हुँदैन मनस्थिति बदल्नुपर्छ । त्यो सोचलाई बदल्नुपर्छ । पुरानै आनिबानीलाई राखेर नयाँ बनाउन सकिन्न ।'
साथै महामन्त्री शर्माले कांग्रेस मात्रै नभएर देशैलाई बदल्ने संकल्पमा आफूहरू विशेष महाधिवेशनको मैदानमा खडा भएको बताएका छन् ।
‘कांग्रेस मात्रै बदल्न हामी यहाँ आएका होइनौँ । हामी बदलिन पनि सक्छौँ । बदल्न पनि सक्छौँ । अनि देशलाई समुन्नतिमा अगाडि बढाउन सक्छौँ भन्नेमा प्रण गर्छौं । त्यसैले कांग्रेस र देशलाई सँगै बदल्न हामी मैदानमा आएका हौँ,’ शर्माले भने, ‘घर निवास, भन्दा नेपाली नेपालीको मन जलेको छ । यसैले हामी मन जोड्न आएका हौँ । भवन जोड्ने मात्रै होइन, मन जोड्नसमेत हामी विशष महाविधेशनमा जोडिएका हौँ ।’
मौसम खराबी भएपछि यसलाई अनुकूलतामा बदल्न र विकसित गर्न आफूहरू मैदानमा ओर्लिएको उनको भनाइ छ । लामो समय पोखरी जसरी जमेको नेतृत्वको अप्राकृतिक स्थितिलाई आफूहरूले खोल्न चाहेको उनको भनाइ छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ । यसमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ । आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया चलिरहेको छ । आज बिहान ९ बजेदेखि प्रतिनिधिको नाम दर्ता सुरु भएको थियो ।
कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ । कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।
कांग्रेसले मात्रै होइन देशैले सुनोस् । हामी अब एउटा नेता दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने संकल्प विशेष महाधिवेशनबाट प्रस्तावको रूपमा अगाडि बढाउँदै छौँ,’ उनले भने, ‘महाधिवेशनमा हरेक नागरिकका असन्तुष्टिलाई मसिनो गरी केलाउँछौँ । छलफल गर्छौं । एउटा संकल्प गर्छौं ।’
३४ वर्षमा ३० वटा सरकार बन्दा नागरिक सन्तुष्ट थिएनन् भन्ने पुष्टि भएको उनको भनाइ छ । सत्तामा कांग्रेस र एमाले मिल्दा झन् ठूलो गल्ती भएको शर्माको भनाइ छ ।
प्रतिक्रिया