×

मैले गतसाल गरेका समझदारीलाई फोटोकपी गरेर ओलीले आफुले गरेको भनेर प्रचार गरे : प्रचण्ड

images

चितवन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालको हितमा रहेको बताएका छन्। मंगलबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको उनले बताए।

उनले भने, ‘बीआरआईप्रति, एमसीसीप्रति सबैको चासो हुने नै गर्छ । किनभने अहिले चीन र अमेरिका मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् र दुई जनाको रणनीति अगाडि आउँदाखेरी एकअर्काले कन्सर्न राख्नु स्वाभाविकै हो । प्रधानमन्त्रीमा मेरो दोस्रो कार्यकालमा बीआरआईका लागि सम्झौता गरिएको हो । त्यही अनुसार अहिले अगाडि जानुपर्नेमा कन्फ्युजन छ । तर यो अगाडि बढ्नुपर्छ ।’

चीनले अघि सारेको बीआरआई परियोजनालाई नेपालमा पहिलोपटक समझदारी गराएको म दोस्रो पटक प्रधानमन्त्री हुँदा हो । मैले पोहोर साल चीन भ्रमणमा जाँदा संयुक्त वक्तव्यमा नै बीआरआईको कार्यान्वयन फ्रेमवर्कमा हस्ताक्षर गर्नुपर्छ र अन्तिम तयारी गर्ने कुरा गरिएको थियो,’ प्रचण्डले भने, ‘भारत र चीनसँग सन्तुलित सम्बन्ध दूरगामी थिए । मलाई अहिलेको प्रधानमन्त्रीलाई देख्दा अलिअलि खुसी पनि लाग्छ, अलिअलि दया पनि लाग्छ । मैले गतसाल गरेका सबैलाई फोटोकपी गरेर मैले गरेको भनेर प्रचार गरिरहनुभएको छ । ती सबै गतसाल गरिएका सहमति समझदारी हुन् ।’


यस्तै अध्यक्ष प्रचण्डले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताए।

माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकांक्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताए।

उनले भने, “हाम्रो ध्यान सरकारतिर छैन । हाम्रो ध्यान जनतातिर छ । जनतालाई परिचालन गर्नेतर्फ नै छ । सरकारका कामको खबरदारी गरिररहन्छौं।”

 

मङ्गलबार २५ मंसिर २०८१ ०३:१७ PM मा प्रकाशित

प्रतिक्रिया