×

केपी ओलीभन्दा प्रचण्ड र नारायणकाजीमा राजनीतिक चरित्र देखियो- दुर्गा प्रसाईं

images

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली र युवासंघका इन्चार्ज महेश बस्नेत आफूसँग डराएको बताएका छन्। मोसो प्रकरणको भोलिपल्ट मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै प्रसाईंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतप्रति आक्रोश पोख्दै उनले ओली आफ्नो हजुरबुबा भए पनि उनमा भन्दा प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखिएको बताएका छन् ।

 सम्मेलन गर्दै प्रसाईँले आफूले जति आलोचना गरे पनि प्रचण्डले प्रतिक्रिया नजनाएको तर एमालेले कालोमोसो दलेको टिप्पणी गरे । उनले खेल अब शुरु भएको भन्दै महेश बस्नेतलाई धन्यवाद दिए । युवा सङ्घले प्रसाईंलाई मोसो दलेपछि मंगलबार आफ्नै घरमा पत्रकार सम्मेलन गरेर प्रसाईंले  देश बचाउनुपर्छ भन्दा आफूमाथि दुर्व्यवहार भएको भन्दै अब एमालेसँग खेल सुरु भएको बताएका हुन् । 

‘म खुसी छु । मैले त नागरिक बचाउ, देश युवाविहीन भयो, जनताले दुःख पाए भन्दा मलाई दुर्व्यवहार भयो’, उनले भने, ‘एमाले कसको पार्टी रहेछ भन्ने देखियो । तस्करहरूको पार्टी एमाले भन्ने प्रमाणित भयो । गरिबको आवाज उठाउँदा मलाई कालो मोसो दलियो । यसको जवाफ जनताले फर्काउँछन् ।’

उनले एमाले आफूसँग डराएको भन्दै खेल सुरु भएको पनि बताए । ‘हिजोदेखि खेल सुरु भयो, एमालेले मसँग खेल सुरु गर्यो, मैले आजबाट पत्रकार सम्मेलन गरेर सुरु गरेँ’, प्रसाईंले भने, ‘खेल बन्द भएको छैन ।’ 

उनले ओली हजुरबा भन्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र  श्रेष्ठमा धेरै राजनीतिक चरित्र रहेको बताए । ‘हजुर बुबामा राजनीतिक चरित्र देखिएन, बरु प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखियो’, प्रसाईंले भने, ‘एमालेले मलाई ठुलो गुन लगायो । नेता बनायो । ट्रेडमार्क बनायो । एमालेसँग प्रतिस्पर्धा गर्ने दुर्गा प्रसाईं हो भन्ने ठान्यो ।’ 

प्रसाईंले यो व्यवस्था नै परिवर्तन गर्नुपर्ने भन्दै यही अवस्था रहे देशमा लास उठाउने मान्छे समेत नहुने बताए । उनले सर्वहारा वर्गको कुरा उठाउँदा आफूले कुनै गल्ती नगरेको भन्दै तस्करको नाइके को हो भन्ने कुरा आफूलाई मोसो लगाएपछि पुष्टि भएको बताए । प्रसाईं कुनैबेला माओवादी केन्द्र निकट मानिन्थे । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डलाई हजुरबुवाको साइनो लगाउने उनले तत्कालीन नेकपा हुँदा दुई अध्यक्ष केपी ओली र प्रचण्डलाई भक्तपुरस्थित आफ्रनै घरमा निम्ता गरेर जुम्लाको मार्सी चामलको भात खुवाएर चर्चामा आएका थिए ।

एमाले र माओवादी मिलेर बनेको नेकपा हुँदा प्रचण्ड र ओलीका प्रिय पात्र बनेका उनै प्रसाईं पछि नेकपा भंग भएपछि एमाले प्रवेश गरेका थिए । एमाले अध्यक्ष ओलीसँगको हिमचिमकै कारण सौराहमा सम्पन्न एमालेको १०औं महाधिवेशनबाट ५ दशकसम्म पार्टीमा योगदान दिएका कर्तव्यनिष्ठ नेताहरुलाई पाखा लगाउँदै एमालेको केन्द्रीय सदस्य बनेका थिए । 

मङ्गलबार २३ असोज २०८० ११:४९ AM मा प्रकाशित

प्रतिक्रिया