×

धनराज गुरुङले सहकारीको रकम पचाउन नक्कली डिभोर्स गरे- सभापति रवि लामिछाने

images

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कसैले उचालेकै भरमा सहकारीपीडितले आन्दोलन गरेको आरोप लगाएका छन् । पार्टीको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण एवं विस्तारित बैठकलाई सम्बोधन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन्। 

लामिछाने प्रशिक्षण कार्यक्रममा सहभागी हुन लाग्दा पोखराको सूर्यदर्शन सहकारी पीडितले उनीविरूद्ध कालो झण्डा देखाएर नाराबाजी गरेका थिए। पीडितले आफूविरूद्ध नाराबाजी गरेर गलत मान्छेलाई टार्गेट गरेको लामिछानेको जिकिर छ।

‘कस्तो संघर्ष समिति हो। अपराध गर्दै हुनुहुन्छ साथीहरू। संघर्ष समितिको नाममा अपराध। लाखौं सहकारी पीडितमाथि अन्याय गर्दै हुनुहुन्छ। तपाईले गलत मान्छेलाई टार्गेट गरेर,’ लामिछानेले भने। साथै उनले वास्तविक सहकारी ठगलाई छाडेर आफूमाथि केन्द्रित हुँदा विषय अन्तै मोडिएको जिकिर गरे । उनले भने, ‘लाखौं सहकारीको बचतकर्ताको रकम फिर्ता दिनुपर्ने विषय, त्यो आन्दोलनमा हामी पनि पनि अग्रपंक्तिमा आउनुपर्ने ठाउँमा गलत मान्छेलाई आरोप लगाएर विषय अन्तै मोड्नुभएको छ ।’

उनले आफू अझै पनि पीडितका पक्षमा लड्न तयार रहेको भन्दै आँखा खोल्न पीडितलाई आग्रह गरे । ‘म अझै भन्न चाहन्छु, साथी हो । कहाँ जाने लड्न ? म अझै पनि तयार छु,’ उनले भने, ‘तपाईंका अनेक मुर्दावाद, जिन्दावाद, कालो झन्डाबीच पनि म कालो मन होइन, सफा मन लिएर तपाईंको आन्दोलनमा अग्रपंक्तिमा लड्न चाहन्छु, आँखा खोल्नुस् ।’ 

आफूविरूद्ध प्रमाण ल्याए बैठकस्थलबाटै राजनीति त्याग्न तयार रहेको उनको दाबी थियो । ‘ममाथि केन्द्रित हुन पर्दैन । मलाई एउटा प्रमाण भए पुग्छ । चिन्ता तपाईंलाई सहकारी पीडितको हो भने पीडितका लागि लड्नुस् । मलाई बोलाउनुस् न,’ उनले भने, ‘अग्रपंक्तिमा कहाँ जिन्दावाद, कहाँ मुर्दावाद म भन्न तयार छु । खोयाबाट सुरू भएको यो काण्ड खोयामै टुंगिन्छ ।’ गत पुस ७ गते पोखराको अमरसिंह चौरमा भएको रास्वपाको सभामा उनीमाथि खोया प्रहार भएको थियो ।

 लामिछानेले नेपाली कांग्रेस नेता धनराज गुरुङले सहकारीको रकम पचाउन नक्कली डिभोर्स गरेको आरोप लगाएका छन् । कांग्रेस महामन्त्री गगन थापाले संसदमा लामिछानेले सहकारीको रकम अपचलन गरेको प्रमाण आफूसँग भएको बताएपछि त्यसको विरुद्धमा लामिछानेले उनीहरू नक्कली अनुहार भएको टिप्पणी गरे ।

‘कति सजिलै सदनमा उभिएर प्रमाण छ भन्नुभएको छ । प्रमाण के हो भन्ने देखियो । नक्कली भुटानी पनि तपाईँ नै हो । नक्कली डिभोर्स गरेर सहकारी ठग्ने पनि तपाईँ नै हो । यी नक्कली मान्छेहरू हुन्,’ उनले भने, ‘सहकारीको पैसा पचाउन नक्कली डिभोर्स गर्ने, नक्कली नागरिक बनाएर विदेशमा बेच्ने नक्कली मान्छेहरू हुन् । राजनीतिका नक्कली अनुहारहरू हुन् । तिनको मुकुण्डो हामी उतार्छौँ ।’

पोखरामा नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले गत निर्वाचनबाट ‘व्यालेट’ युद्धको निम्ता दिएको भन्दै  २०८४ मा युद्ध लड्ने बताए ।
सूर्यदर्शन सहकारी ठगीमा कसैले उचालिदिएका भरमा र कसैले गलत कुरा बोलिदिएको भरमा पीडित उचालिएको लामिछानेको आरोप छ। सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै उनले सहकारीको बचत अपचलनमा आफ्नो हस्ताक्षर, विवरण, नागरिकता, ल्याप्चे केही पनि नभएको बताए। सहकारी ठगीमा आफूविरूद्ध हिलो छ्यापेको उनको आरोप छ।  
 
 

मङ्गलबार २५ भदौ २०८१ ०७:३५ PM मा प्रकाशित

प्रतिक्रिया