×

निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेका लुम्बिनीका वनमन्त्री कुर्मीले दिए राजीनामा

images

बुटवल। बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेका लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्। उनले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष मंगलबार राजीनामा दिएको कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बताए । 

मन्त्री कुर्मीलाई बर्खास्त गर्न महिला अधिकार मञ्च बाँके सहित विभिन्न संघ–संस्थाले एक महिनादेखि काठमाडौंमा धर्ना र माइतीघरमण्डल–बालुवाटार पैदलमार्च सम्मका आन्दोलन गरेका थिए । यस्तै नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले समेत मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाउँदै मन्त्री कुर्मीलाई कारबाही गर्न माग गरेको थियो ।

मन्त्री भएपछि उनको बारेमा चौतर्फी विरोध भएको थियो । स्रोतका अनुसार कुर्मीलाई कांग्रेस पार्टी केन्द्रले मुद्दाको छिनोफानो नलाग्दासम्म मन्त्री पदबाट राजीनामा दिन सर्कुलर गरेको हो ।

कांग्रेस–माओवादीको गठबन्धनबाट उनी बाँकेको निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित भएका थिए । शाहलाई साउन ९ गते कांग्रेसबाट बिनाविभागीय मन्त्री बनाएको थियो । मुख्यमन्त्री आचार्यले साउन १८ गते कुर्मीलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका थिए ।

कुर्मीविरुद्ध कर्तव्य जान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । उनलाई निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ ।  
 

मङ्गलबार २५ भदौ २०८१ ०७:५७ PM मा प्रकाशित

प्रतिक्रिया