×

परिषद्मा बहुमत नपुग्ने नाममा उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन - रास्वपा प्रमुख सचेतक परियार

images

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखलाई महाअभियोग लगाउने कुरा मान्य नहुने चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई महाअभियोग लगाउने खवर सुनेको भन्दै त्यस्तो कदम चालिए मान्य नहुने बताए।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै आजका सहजताका लागि काम गरे भोलि समस्या हुने चेतावनी दिए । ‘आज सम्मानित पदलाई परिषदलाई आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका र आफूलाई लोकतन्त्रको मसिहा भन्ने पार्टीहरु गुपचुप सल्लाह गरेर उपसभामुखलाई पदबाट हटाउने जुन कर्म गर्ने तयारी गर्दै हुनुहुन्छ । स्मरण रहोस्– राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा पद गुमाउला तर लोकतन्त्रका लागि सधैं लड्नेछ, जनताको पक्षमा लड्नेछ’, उनले भने ।

मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखले पद अनुकुलको आचरण नगरेको भनेर प्रश्न उठेको बताएका थिए । राज्य व्यवस्था समितिमा समेत यो विषयमा उजुरी रहेको उल्लेख गर्दै सत्तारुढ दलहरूले हटाउने तयारी गरेको छ । यस सम्बन्धमा रास्वपाले आपत्ति जनाएको हो ।

प्रमुख सचेतक परियारले अहिले सहज छ भनेर कसैलाई हटाउने र अर्को व्यक्ति लैजाने गर्दा भविष्यमा आफैंलाई अप्ठ्यारो पर्न सक्नेतर्फ सचेत हुन कांग्रेस-एमालेलगायत सत्तारुढ दललाई आग्रह गरे । उनले राजनीतिक दलबिच सल्लाह गरेर लोकतन्त्र मारिने काम हुँदै गएको भन्दै उनले कुनै परिषद्मा बहुमत नपुग्ने नाममा उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य नहुने बताए । 

‘एक वर्ष वा दुई वर्ष तपाईंले जित्नुहोला स्मरण रहोस् तपाइहरू आफैले खनेको खाल्डोमा तपाइहरू पर्नुहुनेछ स्मरण रहोस्‚’ उनले भने‚‘के नेपाली लोकतन्त्र यति कमजोर हो । लोकतन्त्रको हुर्मत लिने हो?’ उनले सङ्ख्या र सत्ता शक्तिको नाममा राज्य चलाउने हो भने जनताको सार्वभौम सत्ता अघि कोही पनि नटिक्ने बताए ।

मङ्गलबार २५ भदौ २०८१ ०२:४९ PM मा प्रकाशित

प्रतिक्रिया