×

एसीसी प्रिमियर कप सेमिफाइनल: एसिया कपको सपना पछ्याउँदै आज नेपाल र ओमान भिड्दै

images

काठमाडौँ — मलेसियामा जारी तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानको सामना गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा नेपाली समय अनुसार बिहान ७:१५ बजेदेखि यो निकै रोमाञ्चक र महत्त्वपूर्ण खेल सुरु भइरहेको छ।

यस खेलमा ओमानलाई पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुग्ने र उपाधि नजिक पुग्ने मुख्य लक्ष्यका साथ मैदान उत्रिएको छ।

नेपाल समूह 'ए' को विजेता
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह 'ए' को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले समूह चरणमा बहराइन, मलेसिया र साउदी अरेबियालाई सहजै पराजित गर्दै लगातार तीन खेल जितेको थियो। यद्यपि, समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित हुन पुग्यो। अर्कोतर्फ, ओमान समूह 'बी' को उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गर्न सफल भएको हो।

ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती
नेपालका लागि यो खेल फाइनल पुग्नका लागि निकै महत्त्वपूर्ण छ। बलिङ विभागमा कप्तान सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरी सम्मिलित नेपाली टोलीले विपक्षीलाई सस्तैमा समेट्न महत्त्वपूर्ण योगदान दिइरहेका छन्। तर, अघिल्ला खेलहरूमा नेपालको ब्याटिङ पक्ष केही कमजोर देखिएकाले ओमानविरुद्ध ब्याटिङमा अपेक्षित सुधार ल्याउनु नेपाली टोलीका लागि मुख्य चुनौतीको रूपमा रहने खेल विश्लेषकहरूको भनाइ छ।

नेपाल र ओमानको भिडन्तको इतिहास
एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटको इतिहासमा नेपाल र ओमानबीच अहिलेसम्म १० पटक भेट भएको छ। जसमा ओमानले ६ खेल र नेपालले ४ खेल जितेका छन्। तर, पछिल्ला ५ ओडीआई खेलहरूको रेकर्ड हेर्दा नेपालको पल्ला भारी देखिन्छ। यी ५ खेलमध्ये नेपालले ३ खेलमा जित दर्ता गरेको छ भने २ खेल ओमानले आफ्नो पक्षमा पारेको छ। नेपालले पछिल्लो पटक गत मे महिनामा भएको आईसीसी विश्वकप क्रिकेट लिग-२ सिरिजमा ओमानलाई ८१ रनको सानदार अन्तरले पराजित गरेको थियो। नेपाली टोली आज पनि सोही विजयी लयलाई दोहोर्‍याउने दाउमा छ।

एसिया कपको बाटो
यस प्रतियोगिताको फाइनल प्रवेश गर्ने दुवै टोली र तेस्रो हुने टोली एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुनेछन्। त्यस्तै, प्रतियोगिताको उपाधि जित्ने टोलीले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने प्रतिष्ठित एसीसी एसिया कपमा सिधै आफ्नो स्थान सुरक्षित गर्नेछ। जहाँ भारत र पाकिस्तान जस्ता विश्व क्रिकेटका हस्तीहरूसँग खेल्ने मौका मिल्नेछ। नेपाल यसअघि सन् २०२३ मा पहिलो संस्करणको उपाधि जित्दै एसिया कपमा छनोट भएको थियो।

बिहीबार नै हुने अर्को सेमिफाइनल खेलमा समूह 'बी' को विजेता संयुक्त अरब इमिरेट्स (यूएई) र समूह 'ए' को उपविजेता हङकङबीच प्रतिस्पर्धा हुँदैछ। यस प्रतियोगिताको फाइनल खेल आगामी शनिबार खेलिने तालिका छ।

बिहीबार २५ भदौ २०८३ ०९:४८ AM मा प्रकाशित

प्रतिक्रिया