काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गाइजात्रा सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको पर्व समयक्रममा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको पाइएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले गाईजात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरुका परिवारमा छिट्टै शोक निवारण होस् भन्दै यस पर्वलाई व्यङ्ग्यविनोदका रूपमा मनाउनेहरुलाई पनि स्वस्थ मनोरञ्जन प्राप्त होस् भन्ने कामना गरेका छन् ।
उनले भनेका छन्-
आज गाईजात्रा पर्व । मध्यकालीन समयमा नेवारी परम्पराबाट सुरु भएको यस पर्वलाई प्रताप मल्लको समयदेखि देशैभर मनाउन थालिएको थियो। मृत्यु शोकमा रहेका परिवारले आ-आफ्ना घरबाट गाईजात्रा निकाल्नु पर्ने चलन चलाएर मृत्यु जतासुकै र जोसुकैको परिवारमा रहेको सान्त्वनापूर्ण मनोवैज्ञानिक सन्देश दिन यस पर्वको सुरुवात भएको मानिन्छ।
सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको पर्व समयक्रममा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको पाइन्छ । गाईजात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरुका परिवारमा छिट्टै शोक निवारण होस् । यस पर्वलाई व्यङ्ग्यविनोदका रूपमा मनाउनेहरुलाई पनि स्वस्थ मनोरञ्जन प्राप्त होस् । सबैलाई गाइजात्राको हार्दिक शुभकामना !
प्रतिक्रिया