काठमाडौं । यूके (बेलायत) पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने गिरोहका दुई जना सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौं सरस्वती नगर बसोबास गर्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका–१२ स्थायी ठेगाना भई हाल काठमाडौं नरेफाँट बसोबास गर्ने ४७ वर्षीय अरुण राज शर्मा रहेका छन्।
उनीहरूलाई काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको हो।
महेश लिम्बुले दिएको जाहेरीका आधारमा वैदेशिक रोजगार विभाग, ताहाचलको अनुरोधमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। अनुसन्धानको क्रममा हालसम्म ३८ जना पीडितबाट यूके पठाइदिने भन्दै झण्डै ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरिएको खुलेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए । पक्राउ परकोहरुलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।
प्रतिक्रिया