×

एमालेले राजनीतिक नियुक्ति दिँदा पैसा असुलेको खुलासा

images

काठमाडौं । नेकपा एमालेले राजनीतिक नियुक्ति दिँदा व्यक्तिहरूसँग पैसा असुलेको तथ्य बाहिर आएको छ ।
निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८÷७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक नियुक्तिसमेतबाट पैसा प्राप्त भएको उल्लेख छ ।
एमालेले बुझाएको लेखा परीक्षण प्रतिवेदनमा आयअन्तर्गत राजनीतिक नियुक्ति शीर्षकमा २५ लाख रुपैयाँ देखाएको छ । आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले “राजनीतिक नियुक्तिका नाममा दलले पैसा लिन पाउन्न, लेखा प्रतिवेदन हेरेर थप स्पष्ट होला,” भन्ने प्रतिक्रिया दिए ।

निर्वाचन आयोगको लेखा ढाँचामा आम्दानीअन्तर्गत सदस्यता शुल्क, सदस्यता नवीकरण शुल्क, चल–अचल सम्पत्ति बिक्रीबाट प्राप्त आय, ब्याज, सदस्यताबाट प्राप्त सहयोग रकम, आर्थिक सहयोग, नेपाल सरकारबाट प्राप्त सहयोग र अन्य आय मात्रै उल्लेख छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा लेखा परीक्षण प्रतिवेदन प्राप्त भएपछि आयोगले त्यस सम्बन्धमा तोकिएबमोजिम जाँच गराउन सक्ने व्यवस्था छ । दलबाट कुनै कागजात वा विवरण माग गरिए तोकिएको अवधिभित्र सम्बन्धित दलले आयोगलाई बुझाउनुपर्ने ऐनमा उल्लेख छ । सहसचिव भट्टराईले भन्नुभयो, “प्रतिवेदन हेरेपछि आयोगलाई शङ्का लागेमा सम्बन्धित दललाई पत्राचार गर्नेछौँ ।”

नेपाली कांग्रेसको सात लाख ५० हजार र नेकपा एमालेको करिब आठ लाख सदस्य छन् । नेकपा एमालेको नियमावली, २०५७ को चौथो संशोधन, २०७८ अनुसार पार्टीको सदस्यता शुल्क वार्षिक १८० रुपैयाँ छ । नेकपा एमालेका करिब आठ लाख क्रियाशील सदस्य छन् । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्य बन्न तीन सय रुपैंयाँ र नवीकरण गर्न वार्षिक दुई सय रुपैयाँशुल्क राखेको छ ।

राजनीतिक दलले बुझाएको लेखा परीक्षण प्रतिवेदनबमोजिम अधिकांश राजनीतिक दल चन्दा, कार्यकर्ताको आर्थिक सहयोग, सदस्यता तथा सदस्यता नवीकरण एवं लेभीबाट सङ्कलित आम्दानीबाट सञ्चालन भएका छन् । कांग्रेसको आम्दानीको ठूलो हिस्सा क्रियाशील सदस्यता शुल्क छ, जसबाट उसले ६ करोड ९२ लाख १४ हजार ६२१ रुपियाँ आर्जन गरेको छ । संसद्को दोस्रो ठुलो दल नेकपा एमालेले भने पार्टी सदस्यताबाट ६ करोड ८५ लाख ६३७ रुपियाँ आम्दानी गरेको छ ।

सांसदबाट उसलाई दुई करोड आठ लाख ९१ हजार १०८ रुपैयाँ प्राप्त भएको छ । अन्य लेभी शीर्षकमा नेकपा एमालेले नौ करोड ६१ हजार ८२५ रुपैयाँ उठाएको छ । कार्यकर्ताले सो दललाई एक करोड ७२ लाख २० हजार ६३७ रुपैयाँ सहयोग गरेका छन् । १९ वटा बैङ्कमा खाता रहेको सो दलले बैङ्क ब्याजबाट ५० लाख ४१ हजार ७३६ रुपियाँ पाएको छ ।

२०७८ भदौ १ गते दर्ता भएको नेकपा एकीकृत समाजवादीले लेखा परीक्षण बुझाउनुअघिको दस महिनामै व्यक्तिगत र संस्थागत गरी पाँच करोड २५ लाख ७८ हजार ३४७ रुपैयाँ आम्दानी गरेको छ । व्यक्तिगत आर्थिक सहयोगतर्फ २५ हजार रुपियाँभन्दा बढीको सहयोग शीर्षकबाट सो दलको दुई करोड २८ लाख रुपैयाँ आम्दानी छ । नेकपा एसले सदस्यता, लेभी र नवीकरण शीर्षकमा एक करोड ७८ लाख ३५ हजार ८२५ रुपैयाँ आम्दानी गरेको छ ।

संसद्को तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रले सदस्यताबाट एक करोड ८६ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ । आवधिक लेभीबाट सो दललाई छ करोड ६५ लाख १३ हजार २१४ रुपियाँ प्राप्त भएको छ । जम्मा आम्दानी करिब नौ करोड रहेको सो दलले बैङ्क ब्याजबाट सात लाख ८६ हजार आर्जन गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेताको आर्थिक सहयोगको भरमा सञ्चालन भएको छ । राप्रपालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने सोही दलका वरिष्ठ नेता पशुपति शमशेर राणा छन् । उनले आर्थिक वर्ष २०७८÷७९ मा ४० लाख ५० हजार र अर्का नेता प्रकाशचन्द्र लोहनीले ३० लाख रुपैयाँ सहयोग गरेका छन् ।

गत वर्ष सम्पन्न सो दलको महाधिवेशनअघिसम्म अध्यक्षसमेत रहेका कमल थापाले सात लाख रुपैयाँ र सव्रिmय सदस्यता शुल्कबाट ६० लाख, केन्द्रीय कार्यसमितिको लेभीबाट ४१ लाख ८० हजार तथा अन्य सहयोग शीर्षकमा ३० लाख ५० हजार रुपियाँ आम्दानी गरेको छ । महाधिवेशनमा उम्मेदवार मनोनयनबाट मात्रै सो दलले ५१ लाख रुपैयाँ आम्दानी गरेको उल्लेख गरेको छ ।

 

बुधबार २७ बैशाख २०८० १०:०० AM मा प्रकाशित

प्रतिक्रिया