×

बुढानीलकण्ठमा घर भाडामा लिएर अनलाइन बेटिङ,२३ जना भारतीय नागरिक पक्राउ

images

काठमाडौं– काठमाडौंको बुढानीलकण्ठमा अनलाइन बेटिङ गराएको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित घरमा छापा मारेर २३ जनालाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बुढानिलकण्ठमा एउटा घरमा छापा हानी विशाल भारतीय गिरोहलाई पक्राउ गर्नुका साथै ठगीलगायतमा प्रयोग गर्ने सामग्री जफत गरेको छ।

यो छापा आइतबार साँझ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। २३ जना भारतीय नागरिकसहित उनीहरूका साथबाट ८८ थान मोबाइल, १० ल्यापटप र ८१ हजार रुपैयाँ बरामद गरिएको छ।

प्रहरीका अनुसार भारतीय नागरिकले उक्त पूरै घर भाडामा लिएर अवैध कारोबार गरिरहेका थिए। उनीहरूले बुढानीलकण्ठको दोर्जे लामाको घर भाडामा लिएर बेटिङ गराउँदै आएका थिए। उनीहरूले ३६० नामक एक बेटिङ साइटमार्फत सट्टेबाजी, अनलाइन ठगी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। ठगीको रकम भारतीय नागरिककै बैंक खातामार्फत भुक्तान हुने गरेको देखिएको छ। 

अनलाइनमार्फत क्रिप्टो कारोबारदेखि अवैध ठगीधन्दा चलाउन उनीहरूले घर नै भाडामा लिएका थिए। केही समयअघिदेखि उनीहरूले साढे दुई तलाको घर भाडामा लिएको प्रहरी अनुसन्धानका क्रममा पत्ता लागेको छ। बाहिरबाट हेर्दा सबै बन्द देखिने घर भित्रबाट चाबी लगाएर अनलाइन ठगी धन्दा चलाइएको थियो। 

पक्राउ परेका २३ जनामाथि प्रहरीले अनुसन्धान थालेको छ। अनलाइन ठगी भएकाले उनीहरूले प्रयोग गर्ने मोबाइल फोनमार्फत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।  उनीहरूले तीन अर्ब रुपैयाँभन्दा बढी रकम अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
 

सोमबार २८ माघ २०८१ ०७:४२ PM मा प्रकाशित

प्रतिक्रिया