काठमाडौं- पूर्वऊर्जामन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष नियुक्त भएका छन् । शनिबार बसेको उनेपाको केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको हो ।
यसअघि उनेपाका संरक्षक रहेका घिसिङले दुई साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग एकता घोषण गरेका थिए । तर, उक्त एकता शनिबार एकाएक भङ्ग भएपछि घिसिङ उनेपाको अध्यक्ष भएका हुन् । अब यो पार्टी 'चिम' चुनाव चिन्ह लिएर आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेछ। नवनियुक्त अध्यक्ष घिसिङले रास्वपाका तर्फबाट आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै एकता प्रक्रियामा आफूले कुनै ठूलो पद वा प्रधानमन्त्रीको दाबी नगरेको स्पष्ट पारे।
‘बाहिर मैले प्रधानमन्त्री र पार्टी सभापति मागेको भनेर भ्रम फैलाइयो, जसमा कुनै सत्यता छैन,’ उनले भने, ‘म त बरु उपाध्यक्षको पनि निकै तल्लो वरीयतामा बसेर काम गर्न तयार थिएँ।’ रास्वपाले एकतर्फी रूपमा सहमति तोडेको आरोप लगाउँदै घिसिङले पछिल्लो १२ दिन आफ्नो पार्टी र समर्थकहरूका लागि अत्यन्तै पीडादायी भएको जिकिर गरे। पत्रकार सम्मेलन गर्दै घिसिङले रास्वपासँग सहमति गरेर आफूले क्षति बेहोरेको पनि बताए ।
'छिटो सहकार्यमा जाऔं भन्ने कुरामा लामो समय लिनुभयो । समानुपातिकमा पनि लामो समय लिनुभयो । समानुपातिकमा सबै कुरा त्यागेर छोडेका थियौं । यो लामो समयसम्म इन्गेज गरेर बस्नुपर्दाखेरि पार्टीले ठूलो क्षति बेहोर्नुपरेको छ,' घिसिङले भने, 'आज अन्तिम दिनमा एकतर्फी रुपमा उहाँहरूले सहमति भंग भएको घोषणा गर्नुभएको थियो । एकतर्फी रुपमा सहमति भंग भएको उहाँले मलाई जानकारी गर्नुभयो र मिडियामा त्यसरी आयो । हाम्रा लागि यो १२ दिन अत्यन्तै पीडादायी भयो ।'
घिसिङले रास्वपाका नेताहरूले अलिखित सहमति कार्यान्वयनमा चासो नदेखाएको बताए । पुस १४ मा ७ बुँदे लिखित सम्झौताका अलावा अलिखित सहमति पनि भएको तर त्यो कार्यान्वयन नगरिएको उनको भनाइ छ ।
संविधान, संघीयता, समावेशितालगायतका विषयमा पूरक सहमति गर्नका लागि आग्रह गरेको तर सुरुमा हुन्छ भनेर रास्वपा नेतृत्व पछि हटेको पनि घिसिङले बताए । 'समावेशिता, संघीयता, संविधानले देखाएका आधारभूत विषय सम्बोधन गर्न पूरक सम्झौता गरौं भनेका थियौं । उहाँहरू सहमत हुनुभएको थियो तर उहाँहरू त्यसमा पछिल्लो समय सहमत हुनुभएन,' घिसिङले भने ।
एकताको अन्तिम चरणमा आफूले रास्वपाको साधारण सदस्य मात्र भएर बस्न र आफ्ना केन्द्रीय सदस्यहरूलाई उचित स्थान दिन प्रस्ताव गर्दा पनि सहमति हुन नसकेको उनले खुलासा गरे। एकताको चर्चा चलिरहेका बेला रास्वपाले उज्यालो नेपालका साथीहरूलाई विभिन्न ठाउँमा पार्टी प्रवेश गराएर आफ्नो सङ्गठनमा क्षति पुर्याएको उनले दुखेसो पोखे।
प्रतिक्रिया