×

पहिरोले गर्दा नागढुङ्गा–नौबिसे सडक खण्ड अवरुद्ध

images

काठमाडौं । आज सोमबार नागढुङ्गा–नौबिसे क्षेत्रमा दिनभर परेको अविरल वर्षाका कारण गएको पहिरोले गर्दा नागढुङ्गा–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । वर्षासँगै बगेर आएको लोदोसहितको गेग्य्रान र हिलोका कारण राजधानी काठमाडौं प्रवेश गर्ने त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडक खण्डमा सवारी आवागमन ठप्प भएको छ ।

अवरुद्ध सडक खुलाउन पाँचदेखि सात घण्टा लाग्ने अनुमान गरिएको छ । गेग्य्रानका कारण मुग्लिनतर्फबाट काठमाडौं प्रवेशका लागि आएको जिपसमेत पहिरो र गेग्य्रानको बीचमा फसेको प्रहरीले जनाएको छ ।

अहिले राजधानीबाट बाहिरिने र राजधानी काठमाडौं प्रवेशका लागि आएको सवारीसाधन सडकमा नै रोकिएका छन् भने पहिरो हटाउने प्रयास जारी रहेको खानीखोला प्रहरीले जनाएको छ । धुनीवेशी नगरपालिकास्थित खत्री पौवा नजिकै सुरुङ्ग मार्ग नजिकै पहिरो खसेको हो ।

सोमबार २४ भदौ २०८१ ०६:४९ PM मा प्रकाशित

प्रतिक्रिया