×

खोलामाथि पुल बनाउन पर्छ, घर र बाटो होइन- मेयर बालेन साह

images

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि आज शुक्रबार टुकुचा खोला माथिको सडक भासिएपछि सनसनी फैलिएको सम्बन्धमा मेयर बालेन साहले आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् । सडक भासिएसँगै मेयर साहले खोला माथि पुल बनाउने हो सडक घर होइन भनि प्रतिक्रिया दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उक्त स्थानको भिडियो राख्दै मेयर साहले लेखेका छन् :- ”यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकताअनुसार खोलामाथि कतै पुल बनाउनु पर्छ, खोलामाथि घर र बाटो होइन ।”


”यो टुकुचामाथिको बाटो हो । अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ । अदालती कारणले केहि रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ ।

सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ । यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन” मेयर साहले फेसबुकमा लेखेका छन् ।

शुक्रबार​ २५ साउन २०८१ ०८:५३ PM मा प्रकाशित

प्रतिक्रिया