काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिविरुद्ध खरो रूपमा उभिन वाईसीएललाई निर्देशन दिएका छन् । आज (सोमबार) आफ्नो निवास खुमलटारमा वाईसीएलको नवनिर्वाचित पदाधिकारी टिमलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले हाल प्राप्त उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध सशक्त रुपमा उत्रनुपर्ने भन्दै वाईसीएल टिमलाई निर्देशन दिएका हुन् । दाहालले भने,‘प्रतिक्रियावादी प्रतिगमनकारीहरूले प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेका छन्। जनयुद्ध, माओवादी, युवा, वाईसीएल, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने प्रयास भइरहेका छन्। अब तपाईंहरूको टिम जनरल स्टाफ जस्तै हो। तपाईंहरूले पार्टी नेतृत्व र आदेशमा सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो सावित गर्नुहुनेमा म विश्वास लिएको छु।’
उनले नवनिर्वाचित कार्यसमितिलाई पार्टीको आदेशमा सबैखाले प्रतिगमनका विरुद्ध खरो र दरो उभिन आग्रह गरे ।
‘नवनिर्वाचित तपाईँहरूको पदाधिकारीको टिम पक्कै पनि यो जनरल स्टाफ जस्तै हो। वाईसीएल नेपालको जनरल स्टाफ नै हो यो,’ उनले भने, ‘तपाईँहरूले पार्टीको नेतृत्व आदेशमा सबै खाले प्रतिक्रियावाद र प्रतिगमनका विरुद्ध आफूलाई खरो र दरो साबित गर्नुहुनेछ ।’ प्रचण्डले वाईसीएलको पदाधिकारी ठूलो बने पनि नेतृत्वको केन्द्रीकरण भएको जिकिर गरे । वाईसीएलको ७५ सदस्यीय पदाधिकारी चयन भएको छ। विधान पारित गरेर भोलिपल्टै संशोधन गरिएकोप्रति आफूलाई आलोचना गरिएको बताउँदै उनले भने, 'हुन त विधान आज एउटा पारित गर्ने, भोलिपल्ट संशोधन गर्ने के गरेको होला भनेर मलाई पनि सुनाएका थिए। तर तपाईंहरूले सहमतिमै सबै काम गर्नुभयो, त्यसैले चिन्ता लिनुपर्ने अवस्था छैन।'
प्रतिक्रिया