प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको शुक्रबार भेट भएको छ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको राजदूत श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् ।
राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालले बिहीबार वक्तव्य निकाली आतंकवादविरुद्धको लडाईमा नेपालको साथ रहने उल्लेख गरेको थियो। भेटमा प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडानअनुरूप उक्त आतंकवादी हमलाको भर्त्सना गरेका छन् । उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट गरेका थिए।
प्रतिक्रिया