काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाएको छ। राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराउँदै रास्वपाले उक्त आरोप लगाएको हो। आयोगको ध्यानाकर्षण गराउन कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार लगायतका नेताहरु आज बिहान आयोगको कार्यालयमा पुगेका थिए।
सहकारी रकम ठगी कसुरमा चैत २२ गते शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। त्यस लगत्तै शुक्रबार राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो।
भोलिपल्ट शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले दुई रात हिरासतमा राखेर २३ गते उनलाई भैरहवा कारागार चलान गरिएको थियो । पक्राउ पुर्जी विना नै लामिछानेलाई नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको रास्वपाको आरोप छ। यद्यपि, जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै उच्चले पुर्पक्षमा पठाउन आदेश दिएको थियो।
स्वपाका कार्यवाहक महामन्त्री बुर्लाकोटीले मानव अधिकार आयोगका अध्यक्ष मगरले उक्त घटनाको छानविन गरी आवस्यक कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेको बताए । ‘अध्यक्षज्यूबाट यो मानव अधिकार हनन्को घटनामा राष्ट्रिय मानव अधिकार आयोगले छानविन गर्छ र आवश्यक काम कारबाही अगाडि बढाउँछ भन्ने प्रतिवद्धता दिनुभएको म जानकारी गराउन चाहन्छु,’– ज्ञापनपत्र बुझाएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यवाहक महामन्त्री बुर्लाकोटीले भने ।
रास्वपाले लामिछानेविरुद्ध अशोभाविक, अशोभनीय, गैरकानुनी कार्य भएको, प्रहरीले असामान्य व्यवहार गरी अभद्र शैली अपनाएको, अनुमतिविनै घरभित्र प्रवेश गरेको, सयन कक्षमै पुगेर धरपकड गरेकोलगायतको विषय ज्ञापनपत्रमा उल्लेख गरेको छ । लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश कार्यान्वयन गराउन प्रहरीले गत चैत २२ गते राती पक्राउ गरेको थियो ।
प्रतिक्रिया