काठमाडौ- चन्द्रागिरि नगरपालिकाका २२ वटा सामुदायिक बिद्यालयको भवन भूकम्प प्रतिरोधी बनाइएको छ । आइतबार काठमाडौको नैकापमा आयोजित नेपाली काँग्रेस चन्द्रागिरि नगर कार्य समितिको प्रथम नगर सम्मेलनमा नगरका २२ वटा सामुदायिक विद्यालय भवन आधुनिक ढाँचामा भूकम्प प्रतिरोधीरुपमा निर्माण गरिएको जानकारी दिइएको हो ।
नगरपालिका भित्रका २४ वटा सामुदायिक बिद्यालय मध्ये २२ वटा सामुदायिक विद्यालय अब भूकम्प प्रतिरोधी बनेका छन् । सामुदायिक बिद्यालयको माग अनुसार सीसीटीभी, कम्प्युटर ल्याब लगायतका शैक्षिक सामग्री उपलव्ध गराइएको छ ।
चन्द्रागिरि नगरपालिका भित्र रहेका सम्पूर्ण समुदायिक विद्यालयहरुमा मन्टेश्वरी कक्षा सञ्चालनको लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेटको व्यवस्थापन समेत गरिएको र सबै सामुदायिक विद्यालयहरुका लागि आवश्यक पर्ने प्रविधि मैत्री सामग्रीहरु उपलव्ध गराउने कार्य पनि अन्तिम चरणमा पुगेको जानकारी कार्यक्रममा दिइएको थियो ।
यस्तै नगरपालिका भित्र जर्मन सरकारको सहयोगमा करिव १ अर्बको लगानीमा प्रसुति अस्पताल निर्माणको अन्तिम चरणमा रहेको जानकारी पनि दिइएको छ । नगरपालिकाले बिभिन्न अवधिमा सुरक्षा, समाजिक पूर्वाधार ,जेष्ठ नागरिक सामाजिक विकास, सडक पूर्वाधार विकास खेलकुद, फोहोर मैला व्यवस्थापन, कृषि, सिप विकास ,पर्यटन पूर्वाधार , विपत् व्यवस्थापन र आकस्मिक उपचार लगायतका क्षेत्रमा गरेको प्रगति विवरण पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया