×

पूर्वराजा ज्ञानेन्द्रको काठमाडौंमा भव्य स्वागत

images

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। पूर्वराजा शाह पोखरा विमानस्थलबाट चार्टर्ड विमानमार्फत् आइतबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आएका हुन्। शाह पोखराबाट काठमाडौंका लागि समीट एयरको जहाजमार्फत आइतबार अपरान्ह त्रिभुवन विमानस्थल उत्रिएका थिए। पोखरामा राजावादीले उनलाई पञ्चेबाजासहित बिदाइ गरेका थिए। विमानस्थल अगाडि समर्थक जम्मा भइ राजसंस्थाको पक्षमा र सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकले भव्य स्वागत गरेका हुन्। विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकको अभिनन्दनको स्वीकार गरेका थिए। यता, अप्रिय घटना नहोस् भनेर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ। पूर्वराजा शाहको स्वागतमा राप्रपा, राप्रपा नेपाल लगायतका नेता कार्यकर्ताहरू विमानस्थलको गेटसम्म पुगेका छन्। प्रहरीले उनीहरूलाई विमानस्थल प्रवेशमा रोकेको छ।

पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा वक्तव्य जारी गर्दै साथ खोजेका थिए। राप्रपालगायत दलहरूले पूर्वराजाको वक्तव्यलाई समर्थन र स्वागत गरेका थिए। राजा र राष्ट्रियताको नाममा अभियान चलाउँदै आइतबार विमानस्थलतर्फ गएका राजावादी समर्थकले भारत उत्तर प्रदेशका मुख्यमन्त्री तथा भाजपा नेता योगी आदित्यनाथको तस्वीर बोकेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रको ठूलो तस्वीरकै साइजमा अर्को तस्वीर बोकेर समर्थकहरु हिँडेको देखिन्छ, जहाँ भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ फ्रेममा अटाइएका छन् । आदित्यनाथको तस्वीर मुन्तिर ‘राजसंस्था पुनर्स्थापना गरौं’ लेखिएको छ । भारतका नेताको तस्वीर राखेर नेपालमा राष्ट्रवादी अभियान चलाउनु उदेकलाग्दो भएको भनी सामाजिक सन्जालमा प्रतिक्रिया व्याप्त छन् ।


राजा फर्काउने अभियानको ब्यानरमा हिन्दूवादी प्रदीपविक्रम राणाको नाम लेखिएको छ । ज्ञानेन्द्रले केही समयअघि आदित्यनाथलाई लखनऊमा भेटेका थिए । 

आइतबार​ २५ फागुन २०८१ ०५:२६ PM मा प्रकाशित

प्रतिक्रिया