×

टेकुस्थित कवाड गोदाममा डोजर चलाउने क्रममा झडप, ५ जना घाइते

images

काठमाडौं । काठमाडौंको टेकुमा आइतबार कवाडी व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ । झडपको क्रममा दुवै पक्ष गरी ५ जना घाइते भएका छन् । घाइते हुनेमा ३ जना कवाड व्यवसायी छन् भने २ जना नगर प्रहरी रहेका छन् । 

घाइतेहरुको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । कवाड व्यवसायी समाज नेपालले महानगरले मजदुरमाथि ज्यादति गरेको भन्दै आपत्ति जनाएको छ । कवाड व्यवसायी र संकलकमाथि भईरहेको ज्यादति तत्काल रोक्न कवाड व्यवसायी समाजले सरकारसमक्ष माग गरेको छ ।

‘काठमाडौँ महानगरपालिकाले २०८१ माघ २७ गतेका दिन आज बिहान टेकुको एक कवाडमा गुण्डागर्दी सैलीमा डोजर चलाएर कवाड भत्काउने काम गरेको छ । महानगर प्रहरीले कवाड कारखानामा काम गर्ने मजदुरहरुलाई कुट पटि गरेको छ । महानगरले हाल आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी सैलीमा कवाड संकलक मजदुरहरु माथी कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायका संरचनाहरु भत्काउने काम गरिरहेको छ,’– कवाड व्यवसायी समाज नेपालले विज्ञप्ति जारी गर्दै भनेको छ ।

नगर प्रहरीको टोली डोजर लिएर कवाडी संकलन केन्द्र भत्काउन पुगेको थियो । तर, कवाड मजदुरहरूले प्रतिवाद गर्न खोजेपछि झडप भएको महानगरले जनाएको छ । काठमाडौं महानगरको नगर प्रहरी बलका कार्यवाहक प्रमुख एसपी विष्णु जोशीले कवाडी व्यवसायीले बोत्तल प्रहार गरेको र आत्म सुरक्षा गर्ने क्रममा दोहोरो झडपको स्थिति आएको बताए ।

आइतबार​ २७ माघ २०८१ ०२:४३ PM मा प्रकाशित

प्रतिक्रिया