काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बोलाइएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार बैठक साँझ ५ बजे बालुवाटारमा बस्नेछ । सत्तारुढ दल कांग्रेस एमालेका नेता रहेको संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पुर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् ।
त्यस्तै संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिजाल रहेका छन् । ७ बुँदे सहमतिका आधारमा बनेको कांग्रेस-एमाले गठबन्धनलाई यो संयन्त्रले सहजीकरण गर्दै आएको छ । नेताहरुका अनुसार अहिले सरकारले ल्याएको अध्यादेशलगायत विषयमा छलफल हुनेछ । कांग्रेस-एमाले गठबन्धन सरकारलाई सफल पार्न भन्दै गत कात्तिक १५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति र देउवासहितको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो ।
सरकारले यही माघ २४ गते प्रतिनिधिसभा र राष्ट्रियसभा (दुवै सदन) मा अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी गरेको थियो । तर, राष्ट्रियसभामा निर्णायक अवस्थामा रहेको जनता समाजवादी पार्टी, नेपालसँग सहमतिको लागि सरकारले गरेको प्रयास असफल भएपछि त्यो दिन दुवै सदनको सूचीबाट अध्यादेशलाई हटाइएको थियो ।
प्रतिक्रिया