काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग वार्ता गरेको छ । नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईंसँग सोमबार प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसहितले छलफल गरेका हुन् ।
प्रधानमन्त्री कार्कीसँगको भेटपछि उनले आफूहरुले राखेका माग पूरा नभए जनविद्रोह हुने र त्यो कसैले नसोचेको हुने चेतावनी दिए । प्रधानमन्त्री कार्कीको निर्देशनमा समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरूमा छलफलका लागि प्रसाईंलाई आज वार्तामा बोलाइएको थियो ।
प्रसाईं समूहले गत मंसिर ६ देखि नै राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराइएको बताएको छ । उनले प्रधानमन्त्रीसँग आफ्ना मागहरु स्पष्ट रुपमा राखेको उल्लेख गर्दै उनले आफ्ना माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको बताए ।
प्रधानमन्त्री कार्कीले आफूहरुका मागबारे अध्ययन गरेर पुस २ गते निर्णय दिने बताएको पनि प्रसाईंले जानकारी दिए । २०६२—०६३ को जनआन्दोलनको म्याण्डेट भनेको संघीयता, धर्मनिरपेक्षता ल्याउने नरहेको भन्दै यसबारे जनमतसंग्रह गर्नुपर्ने माग राखेको बताए । प्रसाईंले व्यवस्था परिवर्तन, २० लाख सम्मका ऋण मिनाहा लगायतका मागहरू आफूहरूले प्रस्तुत गरेको र यो माग सरकारले पूरा गर्नुपर्ने बताए।
उक्त मागपत्रलाई अध्ययन गर्न प्रधानमन्त्री कार्कीले पुस २ गतेसम्मको समय माग गरेको उनको भनाइ छ। ‘सर्वदलीय तरिकाले यो व्यवस्था ठीक छ कि छैन भनेर जनमत संग्रहमा जाऔं। जनताले खुशीसाथले भोट हाल्यो भने त सकियो नि त। जनता जनार्दन होनि त। झगडा, आन्दोलन लडाइँ नगर्ने हो भने सबै विषयमा जनमत संग्रहमा जाऔं। यदी पुस २ गतेसम्म डिजिसन दिन सक्नुभएन भने चुनाव हुँदैन। चुनाव त चाहिँदैन हामीलाई,’ उनले भने।
प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले प्रसाईंका मागबारे विस्तृत रूपमा सुनेको पनि उनले बताए। ‘आज समग्र रूपमा हाम्रा मागका विषयमा मजाले सुन्नुभयो। तपाईंका माग जनजीविकापार्जन माग हुन् भन्नुभयो। यी माग भनेका कम्युनिष्टले बोकेर हिँड्ने माग हुन्। तर उनीहरूले यीनै मागहरूलाई भर्याङ बनाएर र यीनै गरिबहरूको लासमाथि टेकेर अर्बौं कमाए,’ प्रसाईंले वार्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै भने। प्रधानमन्त्री कार्कीले पनि पुस २ गते सम्ममा निर्णय दिने बताएको पनि उनले बताए।
‘प्रधानमन्त्रीज्यूले यी कुरा विज्ञसँग बुझ्नपर्छ भन्नुभयो। मैले तपाई एक्जुक्युटिभ पावर एक्सर्साइज गर्ने ठाउँमा हुनुहुन्छ। त्यो ठाउँमा म भइदिएको भए फलानोलाई यस्तो गर्नुस्, फलानोलाई यस्तो गर्नुस्, फलानोलाई यस्तो गर्नुस् भन्थेँ। यस्तो गज्याङगुजुङ गर्न पाइँदैन भनेपछि उहाँले यो सबै कुरा अध्ययन गर्छु र सबैसँग सल्लाह गर्छु। सबै कुरामा म पोजिटिभ छु। म एकदम सकारात्मक छु। आउने पुसको २ गते हामी डिसिजन दिन्छौं भनेको छ,’ उनले भने।
यस्ता छन् प्रसाईंले अघि सारेका माग :



प्रतिक्रिया