पोखरा । रास्वपा सभापति रवि लामिछानेलाई कास्की अदालतमा पेस गरिएको छ । केहीबेर अघि उनलाई अदालत पुर्याइएको छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धानमा रहेका लामिछानेलाई पुनः म्याद थपको तयारी गरिएको छ । उनी माथिको अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले आज म्याद थपका लागि पुन: अदालत उपस्थित गराएको हो ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो । त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई गत मंगलबार चितवन समेत लगेर बयान लिइएको थियो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पाँचौँपटक अर्थात् पछिल्लोपटक यही मंसिर ९ गते १५ दिनको म्याद थपेको थियो।
उक्त म्याद शुक्रबार (मंसिर २१ गते) राति नै सकिएको भए पनि हिजो शनिबार परेकाले आज अदालत खुलेसँगै लामिछानेविरुद्ध छेटौँपटक म्याद थप्न लागिएको हो। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान नसकिएकाले उनीवरुद्ध फेरि हिरासत म्याद थप्न लागिएको हो।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रूपमा गोर्खा मिडिया प्रालिमा लगेको भन्दै ग्यालेक्सी टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो। यसबीच लामिछानेलाई बुटवल, चितवन, काठमाडौँका तीन छुट्टाछुट्टै सहकारी ठगी आरोपमा पनि ती स्थानमा लगेर बयान लिइसकिएको छ।
प्रतिक्रिया