×

बालेनलाई ओलीको कटाक्ष सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन्

images

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गरेका छन् । उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग बुधबार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले ‘कोभन्दा को ठूलो’ भन्ने ढंगले नभई केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्नेमा जोड दिए ।

भेटमा प्रधानमन्त्रीले जनप्रतिनिधि जनताका पक्षमा काम गर्न निर्वाचित भएकाले अहंकार र दम्भबाट निर्देशित नहुन आग्रह गरे । उनले नगर प्रहरी लगाएर फुटपाथ व्यापारीमाथि भइरहेको दमनलाई संकेत गर्दै रोक्न आग्रह गरे । ‘जनताप्रति शालिन र विनयशील हुनुपर्छ । हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्न । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन् ।’

प्रधानमन्त्रीसँगकाे भेटमा काठमाडौं महानगरका मेयर बालेन साह उपस्थित थिएनन् । उनको साटो उपमेयर सुनिता डंगोल सिंहदरबार पुगेकी थिइन् । फोरमले नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहका नाममा आफूखुशी सडक बत्तीको बिल पठाएर बक्यौता देखाउँदा समस्या आएको लगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको थियो ।

जवाफमा उनले सम्बन्धित मन्त्रालय र निकायसँग बुझेर आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए । उनले फोहोरमैला व्यवस्थापनको दिगो समाधान गर्नुपर्नेमा पनि सरकार सजग रहेको स्पष्ट गरे । संघीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न उनले आग्रह गरे ।

फोरमका अध्यक्ष चिरीबाबु महर्जनले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्दै पारस्परिक सम्बन्ध र सहअस्तित्वबाट सहयोग आदानप्रदान गर्दै जनताप्रति सेवा दिन आफूहरू प्रतिबद्ध रहेकाले केन्द्र सरकारबाट हुुनुपर्ने सहजीकरणमा प्रधानमन्त्रीको साथ मागेका थिए ।

बिहीबार २४ साउन २०८१ ०६:४७ AM मा प्रकाशित

प्रतिक्रिया