×

कुलिङ पिरियडमा भएको ‘छलछाम’ को छानबिनका लागि संसदीय समिति गठन

images

काठमाडौं– संघीय निजामती विधेयकमा कुलिङ पिरियड व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानबिन समिति प्रतिनिधि सभाबाट घोषणा भएको छ । सभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले समिति घोषणा गरे । सभामुख घिमिरेले गरेको विशेष समिति गठनको प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो ।

समितिको संयोजक नेपाली कांग्रेसका सांसद एवं सहमहामन्त्री जीवन परियार तोकिएका छन् । सभामुख घिमिरेका अनुसार समितिमा नेपाली कांग्रेसबाट जीवन परियार संयोजकसहित सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका छन् ।

समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको सभामुख घिमिरेले जानकारी गराए । समितिको प्रतिवेदनमा गडबडी गर्ने काममा कसैको संलग्नता देखिए प्रचलित कानून बमोजिम कारबाही पर्नुपर्ने वा नपर्ने भन्ने सुझाव दिने कार्यादेश विशेष समितिलाई दिइएको उनले बताए ।

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गरिएको व्यवस्था भन्दा फरक प्रावधान सहितको विधेयक संसदबाट पारित भएको थियो । सत्ता पक्ष र विपक्ष दुवै दल विधेयकमा चलखेल भएको निष्कर्षमा पुगेपछि छानविन समिति गठन गरिएको हो । कुलिङ पिरियडमाथि गडबडी भएको पाइएपछि विभिन्न दलका सांसदहरूले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए ।

मङ्गलबार २४ असार २०८२ ०८:१३ PM मा प्रकाशित

प्रतिक्रिया