×

हामी सत्तामुखी होइन, रूपान्तरणकारी राजनीतिक पक्षधर हौँ- अध्यक्ष बाबुराम भट्टराई (राजनीतिक प्रतिवेदनको पूर्णपाठ)

images

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले पार्टी निरन्तर जनताको साथमा उभिने बताएका छन्।

पार्टीको बिहीबारबाट सुरू भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षकमा प्रस्तुत २३ पृष्ठ लामो दस्तावेजमा उनले आफ्नै कमजोरीहरूको पनि आत्मसमीक्षा गरेका छन् । बैठकमा भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा ‘जहाँ समस्या, त्यहाँ नेसपा’ हुने उल्लेख छ।

हतारमा पार्टी घोषणा, तालमेलसहित चुनावी प्रतिस्पर्धा, जनआन्दोलन र परिचालनप्रति उदासीनता, मूल नेतृत्वको उदारता तथा आदर्शवाद र वस्तुगत प्रतिकूलता जस्ता कारणले पार्टी कमजोर भएको अध्यक्ष भट्टराईले दस्तावेजमा उल्लेख गरेका छन् ।

पार्टी आफ्नो पहिचान र अस्तित्व संकटको गम्भीर मोडमा उभिएको उल्लेख गर्दै दस्तावेजमा भनिएको छ, ‘हामी कहाँ जान हिँडेका थियौँ, कहाँ पुग्यौँ ? हामी वैकल्पिक राजनीतिक शक्ति हौँ कि परम्परागत पुरानै पार्टीका लाचार छाया हौँ ?’

भट्टराईले नेपाली कांग्रेसलाई उदारवादी लोकतान्त्रिक धार भएको पार्टीको रूपमा व्याख्या गरेका छन् । त्यस्तै, साम्यवादी धारमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, मसाल, नेमकिपा, वैद्य समूह, विप्लव समूह आदिलाई समावेश गरेका छन् । 

पुनरुत्थानवादी संवर्द्धनवादी धारमा राप्रपालाई पश्चगामी र रुढिवादी सोच राख्ने सानो तप्काको प्रतिनिधित्व गर्ने पार्टीको रूपमा व्याख्या गरिएको छ । जातीय/क्षेत्रीय पहिचानवादी धारका प्रतिनिधिहरूमा जसपा, लोसपा, जनमुक्ति, लिम्बूवान मञ्च लगायतका दललाई राखिएको छ । 

नयाँ तथा वैकल्पिक शक्तिहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, विवेकशील साझा पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी र नेपाल समाजवादी पार्टी राखेका छन् ।

यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीको वैचारिक धार अझै प्रस्ट नरहेको तथा अनौपचारिक कुराकानीमा पार्टीले आफूलाई ‘राइट–अफ सेन्टर’ (मध्य दक्षिण) धारको भन्ने गरेको उल्लेख गरेका छन् ।  समाजवादीका नेता विश्वदीप पाण्डेका अनुसार भट्टराईले पेश गरेको उक्त राजनीतिक प्रस्तावमा अब बैठकमा विस्तृत छलफल हुनेछ। 

भट्टराईले पेश गरेको अबको राष्ट्रको संकल्प, नयाँ समाजवादी विकल्प को राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै गम्भीर आत्मसमिक्षा र आत्मालोचनासहित पार्टीलाई अगाडि बढाउनुपर्ने उल्लेख गरेका छन्।

देश भरपर्दो समाजवादी विकल्प निर्माण गर्ने प्रतिबद्धतासहित जनताको बिचमा जाँदैछौं। हामी सत्तामुखी होइन, रूपान्तरणकारी राजनीतिक पक्षधर हौँ। त्यसैले हामी जनताका स्वयंसेवी सेवक हौँ। नयाँ समाजवाद निर्माणको यात्रा निकै लामो र कष्टसाध्य हुन्छ भन्ने कुरा हामीलाई राम्ररी थाहा छ प्रतिवेदनमा भनिएको छ।

देशलाई नयाँ समाजवादी विकल्प निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख छ। तत्काल कुनै पार्टीसँग एकता गर्न सम्भव नभए पनि समाजवादी मोर्चा निर्माण गरेर अघि बढ्नुपर्नेमा प्रतिवेदन सहमत छ।

 
बिहीबार २५ जेठ २०८० ०१:३८ PM मा प्रकाशित

प्रतिक्रिया