काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेकाहरूको विवरण सार्वजनिक गर्दै उनीहरूविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान अघि बढाइएको जनाएको छ।
परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा अछामको साँफेबगर नगरपालिका–४ घर भई कीर्तिपुर नगरपालिका–९ भाजंगल बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलालीको बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रवीन्द्र धामी तथा कैलालीकै घोडाघोडी नगरपालिका–१ घर भई कीर्तिपुर–८ सिनेमा हल बस्ने २२ वर्षीय रोशन बिष्ट रहेका छन्।
उनीहरूले बुधबार दिउँसो करिब साढे २ बजे कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा गुल्मीको धुर्कोट नगरपालिका–७ घर भई कीर्तिपुर ढल्पा बस्दै आएका २२ वर्षीय विपिन घिमिरेको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोप प्रहरीले लगाएको छ।
घटनापछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले तीनै जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया