काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारी भइरहेको बताएकी छिन् ।
नेपाल पत्रकार महांघ काठमाडौं शाखाको २३औ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममार्फत एकद्वार प्रणालीअनुसार लैजान नीति बनाउन लागेको उल्लेख गरिन् । त्यसका लागि मन्त्रालयले आवश्यक प्रक्रिया थालेको उनको भनाइ छ ।
‘सरकारले फजुल खर्च कटौती गर्न लागेको छ’, मन्त्री शर्माले भनिन् । विज्ञापनको व्यवस्थापनले न्यूनतम पारिश्रमिक नपाउने समस्या हल हुने उनले विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, ‘जाजरकोटमा विज्ञापन खोल्नु छ, त्यहाँको बाटो बनाउने विज्ञापन काठमाडौँको पत्रिकामा छापिन्छ । त्यो पत्रिका लिएर विज्ञापनको पैसा लिने तरिका बेठिक छ, यसरी हुँदैन । यसलाई रोक्न आश्यक परे नियमावलीमा संशोधन गरौं ।’
प्रतिक्रिया