×

अख्तियारद्वारा टीकापुर जग्गा प्रकरणमा भ्रष्टाचार गरेको माग दाबी गर्दै विशेषमा मुद्दा

images

काठमाडौं । कैलालीको टीकापुर बजार क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर सरकारी जग्गा नक्कली कागजातका आधारमा व्यक्तिविशेषको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

टिकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धिजराज रेग्मीले आ–आफ्नो कार्यकालमा सरकारी जग्गा व्यक्तिको नाममा गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको
अख्तियारले दायर गरेको मुद्दामा टीकापुर क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर जग्गा व्यक्तिको नाममा गरी भ्रष्टाचार गरेको माग दाबी गरिएको छ । तत्कालीन अध्यक्ष जोशीले १२६ व्यक्तिको नाममा नामसारीको निर्णय गरी दुई करोड १२ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । 

अर्का अध्यक्ष ताम्राकारले आठजनाको नाममा नामसारीको निर्णय गरी ५९ लाख ३८० रुपैयाँ भ्रष्टाचार गरेको र तत्कालीन अध्यक्ष रेग्मीले ९ जनाका नाममा नामसारीको निर्णय गरी ६६ लाख ८९ हजार ८९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । 
कुल विगो दुई करोड ५० लाख ६ हजार ८६९ दाबी गरी जग्गा खरिद गर्ने समेत २४९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । 

बिहीबार २५ माघ २०८० ०५:०४ PM मा प्रकाशित

प्रतिक्रिया