काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताएका छन् । माओवादी केन्द्र गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको शनिबार यहाँ दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने धारणा राखे ।
अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद नभई विज्ञ व्यक्ति मन्त्री बन्ने व्यवस्थामा गए मात्रै आफ्नो पार्टीले उठाउँदै आएको जनताको गणतन्त्र सुदृढ गर्न सकिने बताए ।
विभाजनको शृंखला रोकिएर एकताको प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले अब कोही समूह वा नेताले मात्रै रोकेर कार्यकर्ता र जनता नरोकिने जिकिर गरे । अब विभिन्न धारामा बाँडिएका शक्तिबीचको एकतालाई जोडेर लैजानुपर्ने अध्यक्ष दाहालको भनाइ थियो ।
यसैगरी उनले जनयुद्धको तयारीदेखि पछिल्लो समयसम्म पार्टी नेतृत्वको वैचारिक तथा भौतिक रक्षामा गोरखा जिल्लाको अग्रणी भूमिका रहेको भन्दै प्रशंसा गरे । अध्यक्ष दाहालले देशभर निराशा छाएको बेला विसं २०७९ मा नौवटा स्थानीय तह र हालै सम्पन्न उपनिर्वाचनमा पहिले पराजित भएका ठाउँमा पनि जितेर नयाँ इतिहास बनाएको बताए ।
यस पटक विरोधीहरूले माओवादी केन्द्रलाई जनतातर्फ फर्कने अवसर दिएको उल्लेख गर्दै उहाँ अब पार्टी जनतातर्फ फर्कन सुरु गरेको बताए । यसले देशभर सकारात्मक प्रभाव परेको र केही जिल्लामा ६४ कै अवस्था फर्कने थालेको र त्यसको परिणाम उपनिर्वाचनले देखाएको उनले स्पष्ट गरे । अझै मेहनत गरेर जाने हो भने देशैभरि यो अवस्था आउने उनले बताए ।
अध्यक्ष प्रचण्डले विभाजनको शृङ्खला रोकिएर एकताको प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले अब कोही समूह वा नेताले मात्रै रोकेर कार्यकर्ता र जनता नरोकिने बताए । पार्टीको वैचारिक र नेतृत्वको केन्द्रिकरणले आगामी समाजवादी अभियान अघि बढाउन सम्भव हुने उल्लेख गर्दै उनले विभिन्न धारामा बाँडिएका शक्तिबिचको एकतालाई जोड दिएर लैजानुपर्ने बताए ।
प्रतिक्रिया