×

पशुपतिको धार्मिक मर्यादा उल्लङ्घन गरेको आरोप: इटहरीका दम्पती पक्राउ, थप अनुसन्धानका लागि काठमाडौँ ल्याइयो

images

विराटनगर, २१ असोज । पशुपतिनाथको मुख्य मन्दिरभित्र गैरहिन्दू प्रवेश गरेको आरोपमा इटहरीका एक अन्तरधार्मिक दम्पती पक्राउ परेका छन्। पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–८ का स्थायी बासिन्दा ओसीम अन्सारी र उनकी श्रीमती प्रियंका परियारलाई पक्राउ गरेको हो। 

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौंस्थित प्रहरी वृत्त, गौशाला पठाइएको छ। प्रेम विवाह गरेका ओसीम र प्रियंका केही दिनअघि काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शनका लागि पुगेका थिए। सो क्रममा उनीहरूले मन्दिर परिसरमा एउटा भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उक्त भिडियोमा श्रीमान् ओसीमले मुस्लिम समुदायले लगाउने परम्परागत जालीदार टोपी लगाएको देखेपछि सामाजिक सञ्जालमा तीव्र विवाद सुरु भएको थियो। 

यो विषय राष्ट्रिय राजनीतिमा समेत पुग्यो, जहाँ सांसद खुस्बु ओलीले प्रतिनिधिसभाको बैठकमा पशुपतिनाथको धार्मिक मर्यादा मिचेर गैरहिन्दू कसरी मुख्य मन्दिरको गर्भगृह क्षेत्रमा प्रवेश गरे भन्दै प्रश्न उठाएकी थिइन्। संसद र सडकमा चर्को आलोचना भएपछि पशुपति क्षेत्र विकास कोषले प्रहरीमा औपचारिक जाहेरी दिएको थियो।

पक्राउ पर्नुअघि अन्सारी दम्पतीले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै आफ्नो तर्फबाट स्पष्टीकरण दिएका थिए। प्रियंकाले पशुपतिनाथ आफ्नो बाल्यकालदेखिको धार्मिक आस्थाको केन्द्र भएको र आफ्नो श्रीमानलाई पनि वातावरण देखाउन र बुझाउन मात्र सँगै लगेको बताएकी छन्। 

उनीहरूका अनुसार, आफूहरू मुख्य मन्दिरको भित्री गर्भगृहसम्म पुग्न पाएका थिएनन्। मूल ढोकाबाट भित्र छिरे तापनि त्यहाँ खटिएका सुरक्षाकर्मीले बीचको भर्‍याङबाटै आफूहरूलाई फर्काएको र सुरक्षाकर्मीको सो कार्यमा आफ्नो कुनै गुनासो नरहेको उनीहरूले बताएका थिए। ओसीमले आफूहरू कुनै गलत उद्देश्यले नभई केवल दर्शनार्थीका रूपमा पुगेको र मन्दिरमा अन्य धर्मका व्यक्तिलाई प्रवेश निषेध गरिएको स्पष्ट सूचना आफूले नदेखेको दाबी गरेका छन्। 

पशुपतिनाथ मन्दिरमा गैरहिन्दूलाई मुख्य गर्भगृह प्रवेशमा परम्परागत रूपमा निषेध गरिएको छ। यो घटनापछि पशुपति क्षेत्र विकास कोषले आफ्नो सुरक्षा व्यवस्थामा कमजोरी भएको स्वीकार गर्दै आम भक्तजनसँग क्षमायाचना गरेको छ। 

सुरक्षा र प्रवेश व्यवस्थापनमा कहाँ र कसरी गल्ती भयो भन्ने पत्ता लगाउन कोषले रामशोभित नायकको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ भने घटनामा संलग्न व्यक्ति र भिडियो भाइरल गराउनेहरूमाथि आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा समेत पत्राचार गरिएको कोषले जनाएको छ। 

काठमाडौं पठाइएका दम्पतीमाथि पशुपति धार्मिक क्षेत्रको मर्यादा उल्लङ्घन र सामाजिक सद्भावमा आँच पुर्‍याएको कसुर अन्तर्गत गौशाला प्रहरीले अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

बुधबार २१ असोज २०८३ ११:३२ AM मा प्रकाशित

प्रतिक्रिया