×

इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष–सीईओ पक्राउ नगर्न सर्वोच्चको आदेश, साउन २८ गते दुवै पक्षलाई छलफलमा बोलाइयो

images

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेसहितका पदाधिकारीहरूलाई अनुसन्धानका क्रममा तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

स्मार्ट टेलिकम प्रालिको हाइपोथिकेशनमा रहेको शेयर लिलामी प्रक्रियासँग सम्बन्धित विषयमा चलिरहेको फौजदारी अनुसन्धानका क्रममा आफूहरू पक्राउ पर्न सक्ने दाबी गर्दै बैंकका पदाधिकारीहरूले सर्वोच्चमा रिट दायर गरेका थिए।

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अनुसन्धान प्रक्रिया जारी रहे पनि तत्कालका लागि पक्राउ नगर्न-नगराउन आदेश दिएको हो। अदालतले अनुसन्धान नै रोक्ने आदेश भने दिएको छैन।

यस विषयमा दुवै पक्षको भनाइ सुन्न आवश्यक रहेको भन्दै सर्वोच्चले आगामी साउन २८ गते छलफलका लागि बोलाएको छ। उक्त छलफलपछि यो अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय हुनेछ।

यस रिटमा बैंकका अध्यक्ष र सीईओका साथै सञ्चालकहरू प्रज्ञराज राजभण्डारी, कवि कुमार टिवरेवाल, दीपांकर शाक्य उदय, शालिकराम बेल्वासे र शोभा श्रेष्ठसमेत निवेदक रहेका छन्। सर्वोच्च अदालतले विपक्षी पक्षसँग लिखित जवाफ समेत माग गरेको छ।

शुक्रबार​ २२ साउन २०८३ १०:५६ AM मा प्रकाशित

प्रतिक्रिया