वासिङ्टन डीसी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता (बर्थराइट सिटिजनसिप) सीमित गर्ने र ‘बर्थ टुरिज्म’ रोक्ने उद्देश्यले दुई नयाँ कार्यकारी आदेश जारी गरेका छन्। अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उनको अघिल्लो प्रयासलाई खारेज गरेको केही सातापछि ट्रम्पले पुनः कार्यकारी आदेशमार्फत नीति संशोधनको कदम चालेका हुन्।
बर्थ टुरिज्ममा प्रतिबन्ध: बच्चा जन्माउने र उसलाई स्वतः अमेरिकी नागरिक बनाउने उद्देश्यले मात्र अमेरिका प्रवेश गर्ने गैरनागरिक महिला तथा त्यस्ता संस्था/व्यापार (बर्थ टुरिज्म अपरेटर) विरुद्ध कडाइ गर्ने गरी एउटा आदेश जारी गरिएको छ।
गैरनागरिकको परिभाषा विस्तार: दोस्रो आदेशले स्वतः नागरिकता प्राप्त नहुने समूहको दायरा फराकिलो बनाएको छ। यसअनुसार विदेशी आतङ्ककारी समूहका सदस्य, विदेशी सरकारका कर्मचारी वा कूटनीतिज्ञ, र जालसाजी गरेर नागरिकता लिन खोज्नेका सन्तानलाई जन्मसिद्ध नागरिकता नदिने नीति अघि सारिएको छ।
वासिङ्टनस्थित ओभल अफिसमा आदेशमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतको जुन ३० को निर्णयप्रति असन्तुष्टि जनाएका छन्। अदालतले अमेरिकी संविधानको १४ औँ संशोधन अनुसार अमेरिकामा जन्मिएका प्रायः सबै शिशुले स्वतः नागरिकता पाउने पुरानो व्यवस्थालाई निरन्तरता दिएको थियो।
ट्रम्पले भने, "हामीले सर्वोच्च अदालतबाट जन्मसिद्ध नागरिकताबारे निकै दुर्भाग्यपूर्ण फैसला भोग्नुपर्यो। त्यसैले अहिले हामी नीतिमा केही समायोजन गर्दैछौँ।"
ह्वाइट हाउसका सल्लाहकार स्टेफन मिलरले पर्यटकको रूपमा अमेरिका प्रवेश गरेर नागरिकताको सुविधा, सामाजिक सुरक्षा र मतदान अधिकार दुरुपयोग गर्ने प्रवृत्ति रोक्न यो कदम चालिएको बताएका छन्। यद्यपि, नागरिक अधिकारवादी संस्था (ACLU) र अध्यागमन कानुनविद्हरूले ट्रम्पको यो नयाँ आदेश पनि असंवैधानिक भएको भन्दै पुनः अदालतमा चुनौती दिइने बताएका छन्।
प्रतिक्रिया