काठमाडौं। भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा मिसाइल आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो।
भारतले गएराति गरेको हवाई आक्रमणबाट पाकिस्तानमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।
पाकिस्तान आर्मी इन्टर-सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारसंस्थाहरुले हालसम्म ३५ जना घाइते भएको जनाएका छन्।
भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा आक्रमण गरेको जनाएको छ। तर पाकिस्तानी सेनाले भने तीन स्थानमा आक्रमण भएको बताएको छ।
ठूला विस्फोटको आवाजले आफूहरुलाई स्तब्ध बनाएको पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबादका बासिन्दाहरूले बताएका छन्।
भारतले पाकिस्तानले पहलगाममा पयर्टकमाथि भएको आतंककारी आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि जवाफी कारबाही गरेको जनाएको छ।
भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप लगाउँदै आएको छ। उक्त आतंककारी हमलामा एक नेपालीसहित कुल २६ जनाको निधन भएको थियो।
गत महिना कश्मीरमा पर्यटकहरूमाथि भएको घातक आतंकवादी आक्रमणपछि आणविक हतियार सम्पन्न दुवै देशबीचको सम्बन्धमा तीव्र गिरावट आएको छ। कश्मीर पूर्ण रूपमा भारत र पाकिस्तान दुवै देशले दाबी गर्दै आएको छ।
प्रतिक्रिया