काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी मुलुक भारत नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको बताएका छन् । आज (सोमबार) गणेशमान सिंह फाउण्डेशनले आयोजना गरेको ‘नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतले उचालेको त छैन भन्ने भ्रमसमेत सिर्जना भइरहेको बताए । तर, भारत नेपालीहरुको पक्षमा, गणतन्त्रको पक्षमा र प्रजातन्त्रको पक्षमा रहेको आफूलाई पूर्ण विश्वास रहेको उनले बताए ।
‘कहिलेकाहीँ यस्ता कुराहरु उठिराख्छन्, तर मलाई विश्वास छैन । अहिले राजा स्थापना गर्छौं, पूर्वराजा, भारतमा के छ भन्ने हल्ला चलिराखेको छ । भारतले नै उचाल्यो कि क्या हो भन्ने पनि छ । यहाँ आदित्यनाथको फोटो छापियो । तर, मलाई के थाहा छ भने आदित्यजीले भारतको जो हाम्रो दूतावास छ ।
दूतावासमा गएर यो झुठा कुरा हो । यसमा मेरो कुनै हात छैन, नेपालको जनताले जे चाहन्छन् त्यही नै हुन्छ भनेर उहाँ आफैंले भन्नु भएको कुराले हामीलाई के लागेको छ भने भारत नेपालसित छ, गणतन्त्रसित, प्रजातन्त्रसित छ । खिलाफमा छैन भन्ने हामीलाई लागेको छ,’– सभापति देउवाले भने ।
साथै, भारतसित नेपालको धेरै राम्रो सम्बन्ध रहेको र भारतले पनि नेपाललाई धेरै ठूलो सहयोग गरेको सभापति देउवाले बताए । भारत र नेपालबीच रहेका समस्याहरुलाई कुराकानी गरेर र वार्ताको माध्यमबाट समाधान गर्न सकिने पनि उनले बताए । साथै, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले छिट्टै भ्रमणको निम्तो दिनेमा उनले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया