×

आफ्ना सांसदलाई भोलिसम्म काठमाडौं आइपुग्न ९ दलको उर्दी-- प्रशिक्षण दिने कार्यक्रम स्थगित 

images


काठमाडौं । ९ दलले राष्ट्रपति निर्वाचनका लागि संघीय र प्रदेशसभातर्फका सबै सांसदहरुलाई भोली बुधबार साँझसम्म जसरी पनि काठमाडौं आइपुग्न निर्देशन दिएका छन् । 
मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको ९ दलको बैठकले पर्सी हुने राष्ट्रपति निर्वाचनका लागि भोली साँझसम्म काठमाडांै आइपुग्न सांसदहरुलाई निर्देशन दिने निर्णय गरेको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए। 

उनले बैठकमा राष्ट्रपति निर्वाचनमै केन्द्रित भएर छलफल भएको बताए । उनले भने ‘राष्ट्रपति निर्वाचनकैबारे बैठकमा कुरा भएको हो’ । बैठकमा मतदानबारे सचेतना जगाउनेबारे छलफल भएको भन्दै उनले राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित पक्का भएको जिकिर गरे ।

उनले भने, ‘हामी आठ दलसँग ३१ हजार ५ सयभन्दा धेरै छ। एमालेको आफ्नो मात्रै १५२८१ हो। राप्रपा र रास्वपाले निर्णय गरेका छैनन्। तर पनि हामी सजिलै जित्छौँ। रामचन्द्र पौडेल फागुन २५ गते साँझसम्म राष्ट्रपति भइसक्नु हुन्छ।’
कांग्रेस नेता पुर्ण बहादुर खड्काले भने बैठकमा ९ दलबाट अघि सारिएका रामचन्द्र पौडेललाई जिताउने कुरा भएको बताए । उनले भने ‘यसअघि नै ९ दलको संयन्त्र बनाइएको छ ।’

उनले राष्ट्रपति निर्वाचनपछि गठबन्धन अझै विस्तार हुने बताए। उनले ९ दलका सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम स्थगित भएको बताए। ‘मतदातालाई प्रशिक्षण दिने कार्यक्रम थियो। सबै सांसदहरुलाई एकै ठाउँमा राखेर प्रशिक्षण गराउने तयारी थियो, तर निर्वाचन आयोगले आचारसंहिता जारी गरेकाले भोलिको कार्यक्रम स्थगित भयो।’बैठकपछि एकीकृत समाजवादी महासचिव वेदुराम भुसालले गठबन्धनबारे कुरा भएको बताए।  उनले भने ‘गठबन्धनबारे आज छलफल प्रारम्भमा भएको छ। निष्कर्षमा पुग्न सकेको छैन ।’  गठबन्धन विस्तार र मोडालिटीबारेमा कुरा भएको उनले जानकारी दिए।
 

मङ्गलबार २३ फागुन २०७९ ०४:३९ PM मा प्रकाशित

प्रतिक्रिया