काठमाडौं। अनुमतिबिनै विदेश भ्रमणमा गएपछि विवादमा तानिएका कोसी प्रदेशका आन्तरिक मामिला कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन्। मुख्यमन्त्री हिक्मत कार्कीलाई उनले बुधबार राजीनामा बुझाएका हुन्। मन्त्री अधिकारी जापानको टोकियो महानगरले आयोजना गरेको कार्यक्रममा भाग लिन अनुमति र जानकारीबिनै त्यहाँ पुगेका थिए। भ्रमणको विषय विवादमा परेपछि नैतिकताका आधारमा राजीनामा दिएको अधिकारीले बताए ।
विदेश भ्रमणका सामान्य प्रक्रिया पनि पुरा नगरेकाले मन्त्री अधिकारीलाई राजीनामा दिन मुख्यमन्त्री कार्कीले सुझाव दिएका थिए। प्रदेशमन्त्रीहरु विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्ने हुन्छ।
उनले राजीनामा पत्रमा भनेका छन्, ‘यही २०८१ सालको तिहार बिदाको समयमा मैले गरेको निजी जापान भ्रमणको सन्दर्भमा भएका केही प्रक्रियागत विषयमा उठेका प्रश्नहरूको सन्दर्भमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो विषयमा प्रश्न उठिसकेपछि म एक जिम्मेवार पार्टीको जिम्मेवार जनप्रतिनिधिको हैसियतले उच्च नैतिकताको आधारबाट उक्त मन्त्रीपदबाट राजीनामा गरी नेतृत्वलाई सहयोग पुर्याउनु उचित ठानी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मन्त्री पदबाट राजीनामा गरेको छु ।’
प्रतिक्रिया