१९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र ५ सय मिटरको दुरीमा सार्वजनिक शौचालय भेटिने गरी काम सुरु गरेको जनाएको छ । महानगरपालिकाले आफैंले निर्माण गरेको सार्वजनिक शौचालय र व्यक्ति तथा संस्थाले सञ्चालन गरेको ‘पब्लिक ट्वाइलेट’लाई प्रभावकारी सञ्चालन गरी ५ सय मिटरको दुरीमा भेट्ने बनाउन लागेको हो ।
यो कामको लागि महानगरले वडालाई जिम्मा दिएको छ । महानगर भित्र भएका सार्वजनिक शौचालयलाई नियमित गर्ने र ‘पब्लिक ट्वाइलेट’ बनाउन सम्झौता भएका स्थानहरुको सञ्चालन अनुगमन गर्ने र नयाँ निर्माण गर्ने योजना कार्यान्वयनका लागि वडा मार्फत काम गर्न लागेको महानगरका सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख डा.शिवराज अधिकारीले जानकारी दिए । काठमाडौंमा शौचालयको अवस्था तत्काल सुधार गर्न अल्पकालीन समाधानको लागि मात्रै वडा मार्फत काम सुरु गरेको अधिकारीले बताए ।
‘कुन सार्वजनिक शौचालय कसरी सञ्चालन भएको छ, त्यसलाई नियमित र व्यवस्थित गर्न के गर्नुपर्छ भनेर वडालाई नै जिम्मेवारी दिएका छौं,’ सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख डा. अधिकारीले भने ।
काठमाडौं महानगरपालिकाका मेयरमा बालेन शाह निर्वाचित भएपछि उनको आग्रहमा बजार क्षेत्रका बासिन्दाले आफ्नो निजी शौचालयलाई पनि सार्वजनिक रुपमा प्रयोग गर्न दिन सहमत भएका थिए । खासगरी पसल, होटल तथा रेष्टुरेन्ट, बैंक तथा वित्तीय संस्थाले सार्वजनिक शौचालय लेखिएको बोर्ड राखेर बाटो हिँड्ने जोसुकैलाई पनि प्रयोग गर्न दिन थालेका थिए ।
प्रतिक्रिया