काठमाडौँ। नेपाली कांग्रेसभित्र आन्तरिक मतभेद र राजनीतिक किचलो बढिरहेका बेला पार्टीका शीर्ष नेताहरूबीच छलफल र संवाद तीव्र बनेको छ। यसै क्रममा पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई एकीकृत, सबल र एकढिक्का बनाएर लैजानका लागि आफ्नो तर्फबाट गर्नुपर्ने जुनसुकै त्याग गर्न पनि आफू तयार रहेको स्पष्ट पारेका छन्।
नेता कोइरालाले महामन्त्री गगन थापासँगको विशेष भेटवार्ताका क्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। दुई नेताबीच कांग्रेसभित्र पछिल्लो समय देखिएका आन्तरिक सांगठनिक असमझदारी, गुटगत विवाद समाधान र मुलुकको समसामयिक राजनीतिक अवस्थाका विषयमा विस्तृत र गम्भीर विचार-विमर्श भएको थियो।
भेटवार्ताका क्रममा नेता कोइरालाले वर्तमान परिस्थितिमा देश, लोकतन्त्र र राष्ट्रियता नै अप्ठ्यारो र संवेदनशील मोडमा पुगेको औँल्याएका थिए। यस्तो गम्भीर परिस्थितिमा मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक दल कांग्रेस आफैँभित्र अल्झिएर बस्न नहुने र पार्टी एकढिक्का हुनुको कुनै विकल्प नरहेको उनको भनाइ थियो।
कोइरालाले भने, "अहिलेको मुख्य आवश्यकता पार्टी एकता र सुदृढीकरण हो। पार्टीलाई बलियो र एकीकृत बनाउन मेरो तर्फबाट जे-जति त्याग, अडान वा सम्झौता गर्नुपर्छ, म त्यसका लागि पूर्ण रूपमा तयार छु।"
नेता कोइरालाको भनाइप्रति सकारात्मक प्रतिक्रिया दिँदै महामन्त्री गगन थापाले पनि आफू सधैँ पार्टीभित्रको रूपान्तरण, सुधार र सुदृढ एकताकै पक्षमा रहेको स्पष्ट पारेका थिए। दुई नेताबीचको छलफल केवल आन्तरिक राजनीतिमा मात्र सीमित रहेन। भेटमा रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा बाढीपहिरोले पुर्याएको भीषण क्षति, सर्वसाधारणको जीवन अस्तव्यस्त बनेको अवस्था तथा उद्धार र राहतको पछिल्लो स्थितिका बारेमा समेत विस्तृत चर्चा भएको छ। विपद्को यस घडीमा पार्टी कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा तल्लीन हुन परिचालन गर्ने र सरकारलाई थप प्रभावकारी कदम चाल्न दबाब दिने विषयमा पनि दुवै नेता सहमत भएका छन्।
प्रतिक्रिया