×

माओवादी ६० सिट वरिपरि, कांग्रेस ८० सीटमा मान्ने सम्भावना छ - प्रचण्ड

images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा सीट बाँडफाँट टुंगिने चरणमा पुगेको बताएका छन् । बिहान धनगढी पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै संघ र प्रदेशका सबै क्षेत्र एकै पटक टुंगिने बताए । उनले दाबी आ-आफ्नो भएपनि सहमतिमै निष्कर्षमा पुगिने बताए ।

‘सीट संख्या सबै एकैचोटि टुंग्याउने गरी सबै पार्टीका प्रतिनिधि लागिराख्नुभएको छ । आज बेलुकासम्मको समय दिइएको छ । भोलि हामी शीर्ष तहमा बसेर त्यसलाई अन्तिम रूप दिने कुरा छ’, प्रचण्डले भने । ‘नेपाली कांग्रेसले चर्चा चलिरहेको र उहाँहरुले सुरुमा १०० भन्नुभएको थियो । तपाईहरुले पनि सुन्नुभएकै होला’, प्रचण्डले भने, ‘तर पछि ८० को वरिपरि आउने सम्भावना बढ्दो छ । हामीले पनि ६० भनेका छौ, ६० बाट केही तलमाथि होला तर त्यसैको वरिपरि हुन्छ भन्ने हाम्रो विश्वास छ । सत्ता गठबन्धनले प्रभावकारी तालमेल गरेरै निर्वाचनमा जाने उनले बताए। आफ्नो नाम विभिन्न क्षेत्रबाट सिफारिस भए पनि चितवन क्षेत्र नम्बर ३ बाटै उठ्ने उनले बताए। 

पाँच वर्षको अवधिमा कुनै पनि सरकारले स्थिरता दिन नसकेको प्रचण्डले बताए। निर्वाचनपछि बन्ने नयाँ सरकारले मुलकुलाई नयाँ गतिमा अघि बढाउने उनको भनाइ छ। सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँटका लागि बनेको कार्यदलले भरसक मंगलबार रातिसम्म प्रतिवेदन बुझाउने भएको छ। त्यसैगरी नेकपा एकीकृत समाजवादी र नेसपाले पनि २५ सिटको वरिपरि गरेको स्थिति भएकाले त्यसैलाई आधार बनाएर सवै पार्टीका प्रतिनिधिहरु बसेर क्षेत्र र प्रदेशसम्म हेरेर टुंग्याउने प्रयासमा रहेको बताए । 

‘मिलेको जति मिलाउने मिल्न बाँकी रहेको शीर्ष तहमा बसेर  टुंग्याउने भनेर लागिएको छ’, प्रचण्डको भनाइ छ । सोमबार बालुवाटारमा बसेको बैठकमा निर्वाचन क्षेत्रबारे छलफल सुरू भएको थियो। उक्त छलफललाई आज निरन्तरता दिने र साँझसम्म कार्यदल तहमा टुंग्याएर प्रतिवेदन शीर्ष नेतालाई बुझाउने तयारी रहेको छ।  

मङ्गलबार २१ भदौ २०७९ ११:५२ AM मा प्रकाशित

प्रतिक्रिया