काठमाडौँ । उरुग्वेका फुटबलर लुइस स्वरेजलाई ६ खेलको प्रतिबन्ध लगाइएको छ । लिग कप २०२५ को फाइनलमा इन्टर मियामी ३-० ले हार बेहोरेपछि स्वरेजले सियाटल साउन्डर्सका अधिकारीलाई थुकेको आरोपमा उनलाई ६ खेलको प्रतिबन्ध लगाइएको छ ।
यो निलम्बन अर्को वर्षको लिग कपका लागि लागू हुने बताइएको छ, यद्यपि मेजर लिग सकर (एमएलएस) ले थप सजाय दिने अधिकार सुरक्षित रहेको छ । स्वरेजले घटनापछि सामाजिक सञ्जालमार्फत आफ्नो कार्यको लागि माफी मागेका छन् । उनले घटना ठूलो तनाव र निराशाको क्षणमा भएको बताएका छन् ।
स्वरेजलाई खेलबाट प्रतिबन्ध लगाइएको यो पहिलो पटक होइन । स्वरेजलाई उनको खराब व्यबहारका कारण पटक पटक प्रतिबन्ध लगाइएको छ । उनी लिभरपुलबाट खेलिरहेको समयमा सन् २०११-१२ सिजनको खेलमा स्वरेजले म्यानचेस्टर युनाइटेडका प्याट्रिस एभ्रालाई जातीय दुर्व्यवहार गरेकोमा दोषी पाइएपछि आठ खेलको प्रतिबन्ध र ४० हजार जरिवाना गरिएको थियो ।
त्यस्तै स्वरेज २०१४ को फिफा विश्वकपमा पनि विवादमा परेका थिए । उरुग्वेले समूह चरणको एक महत्त्वपूर्ण खेलमा इटालीको सामना गरिरहेको खेलमा स्वरेजले इटालीका डिफेन्डर जियोर्जियो चिएलिनीलाई काँधमा टोकेका थिए र त्यसपछि मैदानमा गएर अनुहारमा प्रहार गरेका थिए । स्वरेजलाई त्यति बेला कुनै कार्ड दिएन र उरुग्वेले सो खेल १-० ले जितेर राउन्ड अफ १६ मा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
यद्यपि, पछि उनलाई नौ खेलको अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइयो र चार महिनाको लागि सबै फुटबल गतिविधिहरूबाट निलम्बन गरियो । साथै उनलाई करिब एक लाख २५ हजार डलर जरिवाना गरिएको थियो ।
प्रतिक्रिया